ममताको आतंक सिक्किम पुग्यो,गोर्खाल्याण्ड तुहाउन के-के गर्दैछिन?



शुक्रबार सिक्किमको नाम्ची निकट एक रिसोर्टमा गोर्खाल्यान्ड आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाले गरिरहेको बैठकमा पश्चिम बङ्गालको सिआइडी र पुलिस टोलीले छापा माऱ्यो। मोर्चा प्रमुख विमल गुरूङ भाग्न सफल बने पनि मोर्चा केन्द्रीय समितिका सदस्य शङ्कर अधिकारी, हेमन्त गौतम, नन्दिता गौतम, सावित्री राईलगायत १४ जनालाई बङ्गाल पुलिसले पक्राउ गऱ्यो।

यसैबीच, भएको भागदौडमा कालेबुङको पेदोङ निवासी दावा भोटियालाई बङ्गाल पुलिसले गोली हान्यो। घटनास्थलमा नै भोटियाको मृत्यु भए पनि उनको शव सिक्किमको नाम्ची अस्पतालमा लगिएपछि मात्र घटनाबारे सिक्किम पुलिसले जानकारी पाएको हो।

सिक्किम पुलिसले बङ्गालको सिआइडी र पुलिसको तीन वटा गाडी नियन्त्रण गरेको छ भने भोटियाको हत्याको आरोपमा कालेबुङ पुलिस अधिक्षक एसपी यादवविरुद्ध जाहेरी दर्ता गरेको छ।

पश्चिम सिक्किम पुलिस अधिक्षक प्रताप प्रधानका अनुसार सिआइडी र बङ्गाल पुलिस टोलीले बङ्गाल-सिक्किमको नाकामा सिक्किमको राभाङ्गा घुम्न गएको पर्यटक भनेर चिनाएका थिए। गोर्खा जनमुक्ति मोर्चाले नाम्ची निकट मोर्चाको बैठक भएको स्वीकार गरेको छ। अचानक भएको बङ्गाल पुलिस र सिआइडीको छापामा को-को पक्राउ परेका छन्, त्यसबारे मोर्चाका केन्द्रीय नेताहरूलाई समेत जानकारी छैन।

मोर्चा र बङ्गाल पुलिस दुवैले सिक्किमसँग मागेनन् अनुमति

नाम्चीमा पार्टीको बैठक गर्नुअघि मोर्चाले स्थानीय पुलिस प्रशासनलाई कुनै जानकारी दिएको थिएन। यता बङ्गालको सिआइडी र पुलिस पक्षले पनि मोर्चा नेताहरूको पक्राउ अभियानबारे सिक्किम पुलिस प्रशासनलाई कुनै खबर नगरेको अधिकक्ष प्रधानले बताएका छन्।

मोर्चाले गुप्त रूपमा बैठक गरेको र बङ्गालको सिआइडी र पुलिसले पनि सिक्किम पुलिसको आँखा छलेर मोर्चाका नेतामाथि धरपकड गरी एक कार्यकर्तालाई गोली हानेको घटनाको बीचमा सिक्किम पुलिस परेको छ।

कानुनी संहिता अनुसार बङ्गाल पुलिस वा सिआइडीले कुनै पनि अपराधी पक्राउ गर्न अर्को राज्यमा जानुअघि धेरैवटा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

आइपिसीको दुईवटा धारा १६६ र ४८ मध्ये पहिलोले देशको कहीँबाट पनि अपराधीलाई पक्राउ गर्ने अधिकार दिएको छ भने दोस्रोले जुन राज्यमा अपराधी पक्राउ गरिने हो, त्यसमा त्यही राज्यको पुलिसको सहयोग लिनुपर्छ भनेको छ।

मोर्चा नेताहरूलाई कुन धारा अनुसारको अपराधमा पक्राउ गरिएको हो, त्यो खुलेको छैन। सिक्किम पुलिसले बङ्गागको सिआइडी र पुलिस टोलीसित वारेन्ट नभएको तथा कुनै बलियो कागजपत्र नभएको खुलाएको छ।

जसका कारण बङ्गालको सिआइडी र पुलिसले प्रयोग गरेका तीन वटा गाडी सिक्किम पुलिसले नियन्त्रणमा लिई नाम्ची थानामा बङ्गालका पुलिस अधिकारीहरूलाई राति १२ बजेसम्म सोधपुछका लागि राखेको थियो। अनुमतिबिना मोर्चाको बैठक र अनुमतिबिना सिक्किम पसेर एक राजनैतिक कार्यकर्ताको हत्या गर्ने बङ्गाल पुलिसले अपनाएको यो हेपाहा चरित्रले बङ्गाल र सिक्किम सरकारबीच समस्या उत्पन्न गरेको छ।

सिक्किम-बङ्गालबीच कानुनी प्रतिष्ठाको सवाल

बङ्गाल पुलिस प्रशासनले कानुनको आधारलाई नजरअन्दाज गरेको कानुनका जानकारहरु बताउँछन्। बङ्गाल सरकारले दार्जीलिङका जनता र पार्टीहरुमाथि गर्ने व्यवहार बुझ्न पनि यो घटना गतिलो उदाहरण रहेको उनीहरूको तर्क छ।

यता सिक्किम पुलिस पनि संवेदनशील सवालहरुप्रति जवाफदेही बन्नुपर्ने स्थिति देखापरेको छ। सिक्किम पुलिसको यस्तो लचिलोपनले देशको सुरक्षामा समेत प्रश्न उठाएको अधिवक्ता प्रताप खातीले बताएका छन्।

यस घटनाले बङ्गाल र सिक्किम पुलिसबीच तनाव निम्त्याउने र यसमा केन्द्र सरकारको हस्तक्षेप अनिवार्य रहेको उनको मत छ।

सिक्किमको शान्ति शृंखलामा आघात

यता नाम्चीमा बङ्गाल पुलिस प्रशासनले सिक्किमको शान्ति शृङ्खला भङ्ग गरेको आरोप लगाउँदै सिक्किमका जनताले भर्त्सना गरेका छन्। दावा भोटियाको शव नाम्ची अस्पतालमा पुऱ्याइएदेखि नै सिक्किमका जनताले बङ्गाल प्रशासनका अधिकारीहरूलाई समेत घेराउ गरेका थिए।

बङ्गाल पुलिसद्वारा पक्राउ गरे पनि सिक्किम पुलिसले बङ्गाल छिराउन नदिइएका मोर्चा नेताहरूलाई नाम्ची न्यायालयमा लगिएको बताइएको छ। नाम्ची न्यायालयले अनुमति दिए मात्र बङ्गाल पुलिसले मोर्चा नेताहरूलाई बङ्गाल लैजान पाउनेछन्।

सूत्र अनुसार बङ्गाल पुलिसले प्रयोग गरेको सुटरलाई सिक्किम पुलिसले पक्राउ गरेर राखेको छ। मनोज बोगटी

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल