गोर्खाल्याण्डको आन्दोलनकारीको आरोपमा बंगाल प्रहरीले समातेका नेपाली रिहा गर्न पूर्वप्रधानमन्त्रीले यसरी गरे आग्रह
आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ ।
नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
भारतको केन्द्रीय सरकार र सम्बन्धित अधिकारीसँग कुराकानी गरी रिहाइको प्रयत्न गर्ने राजदूत उपाध्यायले बताउनुभयो । यसैगरी खनालले नेपालको परराष्ट्र मन्त्रालयमा पनि कुराकानी गरी तत्काल भारतको सम्बन्धित निकायसँग कुराकानी गरी तत्काल रिहाइको पहल गर्न अनुरोध गर्नुभएको छ ।
आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।उनलाई गोर्खाल्याण्ड आन्दोलनमा सहभागी भएको आरोपमा समातिएको हो।