सुरक्षा संगठनको काम काम पैसा कमाउने हो की राष्ट्रिय सुरक्षामा केन्द्रित हुने हो ? बहस चलेको लामै समय भयो । बहस शुरु गराउने काम सेनाले गराएको थियो व्यापारमुखी व्यवहारबाट जुन अझै जारी नै छ ।
नेपाल प्रहरी र सशस्त्रले उसैको सिको गरेर व्यापार विस्तार गर्ने रणनीतिमा देखिन्छन् ।
संगठनभित्रका सदस्यको हितमा काम गर्ने भन्दै खोलिएको कल्याणकारी कोषमा पैसा बढ्दै गएपछि सेना कहिले मेडिकल शिक्षा त कहिले इन्धनबाट व्यापारमा उत्रियो ।
पेट्रोलपम्प सञ्चालनबाट शुरु भएको उसको व्यापार मेडिकल शिक्षा, पानीहुँदै अब एलपिजी ग्याँसमा प्रवेश गर्ने भएको छ । हाइड्रोपावर बनाउने उसको चाहना सरकारले सैनिक ऐन संशोधन नगर्दा रोकिएको छ । अवरोध हटाउन उ प्रयासरत छ ।
तर सैनिक अधिकारीहरु यसलाई व्यापार नभई कल्याणकारी काम नै भएको तर्क गर्छन् । भएको पैसा सदुपयोग गर्दा के भयो त भन्नेहरु पनि छन् ।
सेनाको सिको गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि विस्तारै व्यापार उन्मुख भइरहेका छन् । सशस्त्र अहिले पम्प मार्फत इन्धनको व्यापार गरिरहेको छ ।
प्रहरीले इन्धनपछि खाना पकाउने ग्यासमा छिर्ने दाउमा छ । सेनालेझै उसले पनि मेडिकल कलेजमा प्रवेश गर्ने प्रयास गरेको थियो । तर डा गोविन्द केसीको आन्दोलनले उसको प्रयास रोकियो ।
आखिर यी सुरक्षा संगठनसँग कति पैसा छ जसको बलमा उनीहरु व्यापारप्रति यत्तिको मोहित भइरहेका छन् ।
सेनासँग ३७ अर्ब
कल्याणकारी कोषमा रहेको रकमको आधारमा सेना सबैभन्दा धनी देखियो । हालै सेनाको कल्याणकारी कोषले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोषको सम्पत्ति ३७ अर्बको छ । त्यसमा ३४ अर्ब त वचत मात्रै जो विभिन्न बैंकमा राखिएको छ ।
कोषको २०७२–०७३ को वित्तीय विवरण अनुसार विभिन्न बैंकमा २४ अर्ब नेपाली रुपैंया वचत छ । ४ अर्ब ९३ करोड चै विदेशी मुद्रामा लगानी रहेछ । त्यही रकमबाट उसले वर्षमा एक अर्ब माथीको व्याज पाउने रहेछ ।
८० करोड शेयर डिवेञ्चर र वचत पत्रमा लगानी गरेको छ सेनाले ।
कल्याणकारी कोष अन्र्तगतको पानी उद्योग, पम्प, विद्यालय लगायतमा ४ अर्ब ३४ करोड लगानी रहेछ ।
आम्दानीको स्रोतमा पहिलो नम्बरमा बैंकको व्याज, त्यसपछि शान्ति मिसनमा गएकाहरुको तलवबाट लिने कमिशन, अस्पताल, पेट्रोल विक्रि देखियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोषमा पनि अर्ब छ तर सेनाको जस्तो बलियो छैन । उनीहरुको कोषमा सालाखाला २ अर्ब पारको रकम रहेछ । प्रहरीको कोषमा २ अर्ब १९ करोड अनी सशस्त्रको कोषमा २ अर्ब १३ करोड । यी तीनैवटा सुरक्षा संगठनको कोषमा रहेको रकम जोड्ने हो भने ४२ अर्ब पुग्ने रहेछ ।
यी दुबै संगठनको आम्दानीको स्रोत पनि सेनाको झै व्याज, मिसनमा खटिएकाहरुबाट आउने कमिशन लगायत नै हुन् ।
केपी ढुंगानाको सहयोगमा