राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिजो बाहिरिएर नया पार्टी गठन गरेका पशुपतिशमशेर राणाले स्थानीय तहको निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेपछि पार्टी ध्वस्त हुनबाट जोगाउन बाध्यताले नयाँ दल खोल्नु परेको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिको पहिलो बुँदामै उनले पार्टी फुटाउनुको कारण उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी नेतृत्वले निर्वाचनमा देखाउनु पर्ने संयोजनकारी भूमिका निर्वाह गर्न सकेन । ६ प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम अनपेक्षित र अस्वभाविक भयो । पार्टी चौथो स्थानबाट तल खस्यो । यो परिघटनाले के देखाउँछ भने वर्तमान पार्टीको नेतृत्वले जनविश्वास गुमाइसकेको छ । यदि पार्टी निश्चित लक्ष्य नभएको दिशाहीन अवस्थाबाट गुज्रिरहने हो भने आगामी प्रान्तीय र संसदीय निर्वाचनमा झन् ध्वस्त हुने निश्चितप्राय छ ।
पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको नभए पनि विलय भएकै जस्तो गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गरिनु अर्को कारणको रुपमा उल्लेख छ । उनले महाधिवेशनमा निकै फराकिलो अन्तरले पराजित भएका व्यक्तिहरुलाई र केहिल्यै चुनाव नलड्नेलाई मनोनयन गरेको समेत टिप्पणी गरेका छन् ।
त्यस्तै दोस्रो बुँदामा उनले सरकारमा सहभागिता जस्ता महत्वपूर्ण विषयहरुमा निर्णय गर्दा व्यक्तिगत लहड र स्वार्थलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् । त्यस्तै, पार्टी एकीकरणका बेला एकीकृत पार्टीको चुनाव चिह्न हलो रहने अनौपचारिक सहमतिलाई बलपूर्वक लत्याइएको कारण समेत दिइएको छ । राणाले स्थानीय तहको निर्वाचनमा पार्टी परिचालन हुनै नसकेको र स्वतन्त्र उम्मेदवार जस्तै चुनाव लड्नु परेको आरोप समेत लगाएका छन् ।