सांसद लाई हरियो झिंगा मिसिएको खाजा दिए पछी सिंहदरबारमा हंगामा, किन दिइयो पूर्व राज्यमन्त्री लाई त्यस्तो खाजा
सांसद एवं पूर्वकृषि राज्यमन्त्री राधिका तामाङ संसद बैठकबाट निस्किइन् । बैठक सकिएपछि उनलाई भोक लाग्यो । संसद भवन बानेश्वरको हातामा हरेको चमेना गृह (क्याण्टिन) मा गइन् । सहयोगी र आफूलाई चाउमिन अर्डर गरिन् । भोकको झोकमा माननीयले केही चम्चा चाउमिन खाइन् ।
जब चाउमिनको प्लेटमा हरियो झिंगा देखिन्, तब उनलाई बान्ता हुन खोज्यो । ‘क्याण्टिन’ सञ्चालकलाई बोलाउन कर्मचारीलाई भनिन् । क्याण्टिनका कर्मचारीले डराउँदै ‘साहुजी’ लाई मानीयको प्लेटमा झिंगा परेको खबर दिए । तर, साहुजी आएनन् । त्यसपछि माननीय राधिका भोकभोकै डेरातिर हिंडिन् । तामाङले मुलुक हाँकिरहेका नेताहरुले नियमित रुपमा चिया, नास्ता र खाना खाने क्याण्टिनमा भएको हदैसम्मको लापरबाही अक्षम्य रहेको बताइन् । ‘देश चलाउने ठूला नेताहरुले समेत खाना खाने क्याण्टिनको हालत त यस्तो छ भने अरु होटल र रेष्टुरेण्टको अवस्था के होला ?’, उनले भनिन् । त्यसबारे आफूले सम्वद्ध निकायमा जानकारी गराएर कारबाहीका लागि दबाब दिने उनले जनाइन् ।
त्यसो त उक्त क्याण्टिनमा भएको यो पहिलो घटना होइन । कहिले माननीयले खाजा खाँदै गर्दा फलामको किला फेला पर्ने त कहिले खाना खाएपछि झाडा बान्ता लागेर सांसदहरु बिरामी नै परेका घटना धेरै छन् । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री भएकै बेला क्याण्टिनको मासुभात खाए । साँझदेखि झाडा पखाला लागेर ओछ्यानमै सुत्नुपर्ने अवस्था आयो । कारण थियो, मरेका कुखुराको मासु । बाबुरामले तत्काल एक्सन लिए र क्याण्टिन सञ्चालक परिवर्तन भए । त्यसयता पनि लगातार संसदको क्यान्टिनले बासी, कुहिएका र सडेका खानेकुरा बेच्दै आएको छ । तर, क्याण्टिनमा भएको लापरबाहीबारे कोही बोल्दैनन ।
किन हुन्छ बारम्बार क्याण्टिनमा लापरबाही ?
क्यान्टिनको गएगुज्रेको अस्थाका कारण सांसदहरु हैरान छन् । एमाले सांसद रेवतीरमण भण्डारीले संसदको क्यान्टिनको अवस्थाका कारण बेलाबेलामा लजाउनुपरेको प्रतिक्रिया थिए । ‘मुलुकको केन्द्रीय संसदको क्यान्टिनको अवस्था ज्यादै कमजोर छ, व्यवस्थापन पक्ष कमजोर भएकाले कहिले कुहिएका, सडेका, बासी र गुणस्तरहीन बस्तु बिक्रीमा राखिन्छ’, उनले भने, ‘यस्तो अवस्थाले हाम्रो संसद, संसद सचिवालय र राज्यको संयन्त्रको कमजोर र नालायकी अवस्था ऐनामा हेरेजस्तो हुन्छ ।’ सांसदहरुले क्यान्टिन सुधार्न पटकपटक सम्वद्ध निकायको ध्यानाकर्षित गराए पनि सुनुवाई नभएको उनले बताए ।
‘हाम्रो देशको हैसियत र अवस्था हेर्न कहीं जानुपर्दैन एकपटक केन्द्रीय संसदको क्यान्टिन गए पुग्छ’, काँग्रेस सांसद रामहरि खतिवडाले काठमाण्डुटुडेसँग भने । उनले नेपालको व्यवस्थापकीय क्षमता बुझ्न संसदको हैसियत र क्षमता तथा संसद सचिवालयको हैसियत हेर्दा प्रष्ट हुने स्पष्ट गरे । भण्डारी र खतिवडा दुवैले क्यान्टिनको अवस्था सुधार्ने जिम्मेवारी संसद सचिावलयको भए पनि त्यसमा सचिवालयले ध्यान नदिएको काठमाडौँ टुडेले उल्लेख गरेको छ ।
भण्डारीले क्यान्टिन व्यवस्थापनको जिम्मेवारी सांसदहरुको नभई पूर्ण रुपमा संसद सचिवालयको रहेको बताए । ‘सांसदहरुको काम नीति बनाउने र विधायकी काम हो’, ‘क्यान्टिन हेर्ने जिम्मेवारी सचिवालयको हो ।’ क्यान्टिन सञ्चालनका लागि सचिवालयले टेण्डर र ठेक्कामा दिने गरेको छ । सिंहदरबारभित्रको संसद सचिवालय र संसद भवनको क्यान्टिन एकै कम्पनीले ठेक्कामा लिएको छ । यसअघि क्याण्टिन व्यवस्थित गर्न भन्दै तत्कालिन सांसद दीनानाथ शर्माको नेतृत्वमा समिति गठन भएको थियो । तर, उक्त समिति अहिले अस्तित्वमा छैन ।