बुधबारसम्म सरकार विस्तार गर्ने देउवाको तयारी
काठमाडौँ । लामो समयदेखी मन्त्रालयहरु नेतृत्व बिहिन भएपछि मन्त्रालयका कामहरु ठप्प रहेका छन् । अहिले आएर सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगरी बुधबारसम्म सरकार विस्तार गर्ने सहमति भएको छ । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक -दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको हो ।
कार्यदलमा सकारात्मक कुराकानी भएको कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले बताएका छन् । उनका अनुसार मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ ।
यहि विषयलाई तुङ्गो लगाउनको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घण्टा चलेको थियो ।