सञ्चारमाध्यमलाई जवाफदेही बनाउन आमसञ्चार नीति आवश्यक



बनेपा । सङ्घीय संरचनामा आमसञ्चार नीति र सूचना तथा सञ्चार मन्त्रालयको ढाँचा कस्तो बनाउने भन्ने विषयमा आज विज्ञहरुले यहाँ छलफल गरेका छन् ।

सूचना तथा सञ्चारमन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिले धुलिखेलमा सञ्चालन गरेको दुईदिने राष्ट्रिय सञ्चार नीति र कार्यान्वयन विषयको गोष्ठीमा उनीहरुले सञ्चारमाध्यमलाई बढी जवाफदेही र उत्तरदायी बनाउन आमसञ्चार नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञहरुले भनेका छन् – “कतिपय ऐनलाई खारेज वा पुनरवलोकन गर्नुपर्ने भएको छ ।”

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सञ्चारमाध्यममा भएको एकाधिकार तोड्नुपर्ने आवश्यकतामा जोड दिँदै सञ्चार संस्थाले आफ्नो कामको गुणस्तर बढाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा आँच नआउने गरी राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनमा ल्याइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष तथा सञ्चार विज्ञ काशीराज दाहालले लोकतन्त्रलाई सुदृढ गर्न र सूचना पाउने नागरिकको अधिकारलाई सम्मान गर्न सञ्चारमाध्यम जिम्मेवार र मर्यादित हुनुपर्ने आवश्यकता औँल्याउँदै संघीय कानूनसँग बाझिने गरी कानून नल्याउन सुझाव दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले संघीय संरचनामा सञ्चार मन्त्रालयअन्तर्गतका निकायका लागि नयाँ ऐन, कानूनको तर्जुमा आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक विशेषतासहितको रुपरेखा आमसञ्चार नीतिमा आउनुपर्ने उल्लेख गर्दै पत्रपत्रिकाको वितरण सम्परीक्षण प्रणाली पुरातन किसिमको भएको बताउनुभयो ।

वितरण सम्परीक्षणको अङ्क ५५ बाट घटाएर आचारसंहिता र गुणस्तरमा वृद्धि गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहालले मुलुकको परिवर्तित अवस्थामा आमसञ्चार नीतिको परिमार्जन आवश्यक भएको बताउनुभयो ।

सञ्चार नीतिमाथिको छलफलबाट उठेका विषयलाई सम्बोधन हुने गरी आ–आफ्नो क्षेत्रको प्रतिवेदन तयार गर्नसमेत सम्बन्धित सञ्चार संस्थालाई बढीमा १५ दिनको समयसीमा तोकिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, सञ्चार विज्ञ टीकाराम राई, प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझालगायतले आमसञ्चार नीतिको परिमार्जनबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
रासस कार्यालय निरीक्षण

राससका महाप्रबन्धक शर्माले आज यहाँस्थित रासस जिल्ला कार्यालयको निरीक्षण गर्नुभयो । उहाँले जिल्लामा समाचार संकलनको विधि, काभ्रेपलाञ्चोक आसपास बाहिरबाट गरिने समाचार सम्प्रेषण र जिल्ला समाचारदाताले समाचार सम्प्रेषण गर्ने विधिबारे जानकारी लिनुभएको थियो ।

महाप्रबन्धक शर्माले जिल्ला कार्यालयको भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै आफ्नो कामलाई छिटो छरितो ढंगले सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । उहाँसँगै प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराल पनि हुनुहुन्थ्यो । कार्यालयको भौतिक अवस्था र गतिविधिबारे रासस जिल्ला कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्