प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले सचिवालय समेत गठन गरेका छैनन् । उनले सोमबार विदेश सल्लाहकार र प्रेस संयोजक नियुक्ति गरे पनि मन्त्रिमण्डल र अरु सचिवालय गठन गर्न सकेका छैनन् ।
सचिवालय नभएको र कसैलाई पनि विश्वास नगर्ने स्वभावका कारण उनले सप्तरीको तिलाठी बाढीपीडितलाई सम्बोधन गर्दा पूर्वमन्त्री उमेश यादवको ज्ञापनपत्र बाचन गरेका थिए । यसले पनि उनको होस्ल्याङ्गे पारालाई उजागर गरेको छ । प्रधानमन्त्री देउवामाथि पत्नी आरजु देउवालाई मन्त्री बनाउन दबाब परेको छ ।
शासन संचालनका यावत काम सरुवा, बढुवा, नियुक्तिदेखि ठेक्कापट्टामा हस्तक्षेप गर्दैआएकी आरजुले पछिल्लो पटक मन्त्री बनाउन दबाब दिएको कुरा कांग्रेस बृत्तमा चर्चाको बिषय बनेको छ । देउवाले आरजुको दबाबलाई थेग्न नसकेर उनलाई मन्त्री बनाए भने पनि अचम्म नहुने कांग्रेसका एक नेताले बताएका छन् । पत्नीलाई मन्त्री बनाए भने दुई चरणको चुनावमा दोस्रो भएको कांग्रेस २ नम्बर प्रदेशमा तेस्रो हुने चिन्ता उनले प्रकट गरेका छन् ।
यसैबीच, माओवादीसँग मिलेर चुनावमा गठबन्धन गर्ने नीति लिएकाले पार्टीले स्थानीय तहमा पराजय ब्यहोरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीभित्रै विरोध हुन थालेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले बढी सिट जितेपछि देउवाको नेतृत्व क्षमताप्रति आलोचना सुरु भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा एमालेले झन् बढी सिट जितेपछि नेपाली कांग्रेसभित्र देउवाको चर्को आलोचना हुन थालेको छ । प्रधानमन्त्री देउवाले गराएको दोस्रो चरणको निर्वाचनमा उनकै प्रदेशमा एमाले ठूलो पार्टी भएको छ । सरकारको नेतृत्वमा बसेर गराएको निर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी हुन नसकेपछि रामचन्द्र पौडेल पक्षले पार्टीभित्र यसको गम्भीर रुपमा समीक्षा हुनुपर्ने माग गर्दैआएको छ ।
पौडेलको प्रदेश नम्बर ४ मा पहिलो चरणमा भएको चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो । तर दोस्रो चरणमा कांग्रेसको राम्रो पकड भएको र प्रधानमन्त्री देउवाको गृह प्रदेशमै एमाले पहिलो पार्टी भएको छ । सात नम्बर प्रदेशको चुनावी परिणामलाई पौडेल पक्षले उछालेको छ ।
देउवाले कार्यसम्पादन समिति राखेर चुनावको समीक्षा गर्ने बिषयलाई पनि टार्दैआएका छन् । कांग्रेसको नेतृत्वले लिएको नीति नै गलत भएकाले चुनावमा पराजय भएको निष्कर्ष पौडेल पक्षले निकालेको छ । तर देउवा पक्षले हारको जिम्मेवारी नलिने र बैठक समेत नबोलाएपछि पौडेल पक्ष थप रुष्ट भएको छ, खबर दृष्टिमा उल्लेख छ ।
र, महासमिति बैठक नै बोलाउनुपर्ने माग गर्न थालेको छ । कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पार्टीले टिकट बितरणमा गरेको त्रुटिका कारण स्थानीय तहमा पराजय भएको प्रतिक्रिया दिए । उनले भने, ‘टिकट बितरणमा त्रुटि भएको छ । कांग्रेसको राम्रो आधार भएको ७ नम्बरमा पनि टिकट बितरणमै भएको त्रुटीले पराजय भएको हो ।’