प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट राष्ट्रपतिका लागि महगो गाडी खरिदको प्रस्ताव नआएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति लगायतका निकायमा सरकारले प्रस्तुत बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा पूरक प्रश्नको जवाफमा यस्तो स्पष्ट पारेका हुन्। तर राष्ट्रपती कार्यालयले भने गाडी किनिदिन सरकारलाई पत्राचार गरेको बताएको छ। प्रधानमन्त्रीले त्यस्तो पत्र नआएको बताए पछि त्यो पत्र कता हरायो भन्ने चर्चा चल्न थालेको छ।
नेमकिपाका सदस्य प्रेम सुवालले राखेको प्रश्नको जवाफ दिँदै देउवाले भने, ‘राष्ट्रपति कार्यालयबाट त्यस्तो कुनै धेरै महंगो गाडी किन्न प्रस्ताव आएको होइन्। तर राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिको सवारी र सुरक्षा राज्यको चासोको विषय हुनु स्वाभाविक हो।’
केही समययता विभिन्न सामाजिक संजालमार्फत राष्ट्रपतिको लागि नयाँ गाडी खरिदकालागि १६ करोड रुपैया माग गरेको सूचना बाहिर आएपछि चर्को आलोचनाको विषय बनेको थियो।