प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । सो अवसरमा संविधान संशोधन र मन्त्रिपरिषद् विस्तारबारे आइतबार बिहान देउवा र प्रचण्डबीच छलफल भएको थियो ।
संविधान संशोधनमा सहमति जुटाउन सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले आज एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । त्यसअघि देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा कांग्रेस नेता बालकृष्ण खाँण पनि सहभागी थिए ।
मधेस केन्द्रित दल राजपाले एक साताभित्र संविधान संशोधन नभए संसद्बाट बाहिरिने चेतावनी दिएपछि कांग्रेस र माओवादीले संशोधन प्रस्ताव पारित गराउन राप्रपा र एमालेसँग छलफल सुरु गरेका हुन् । आज सत्तारुढ दलले एमालेसँग छलफल गरेलगत्तै राजपाले पनि एमालेसँग संशोधन प्रस्ताव पारित गराउन ओलीलाई भेट्दै छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको सहमतिविना सत्तारुढ दलले संशोधन प्रस्ताव ल्याए सहयोग नगर्ने भन्दै नयाँ शिराबाट संशोधन प्रस्ताव संसदमा ल्याउन आग्रह गर्दै आएका छन् । राजपाले संशोधन प्रस्ताव पारित गरी २ नम्बर प्रदेशमा केही स्थानीय तह थप गर्नुपर्ने अडान राखेका छन् ।