निर्वाचित भएको करिब एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई समावेश गरी मन्त्रिपरिषद्को तयारी गरेका हुन् ।
कांग्रेस महामन्त्री शशांक कोइराला अमेरिकाबाट फर्केपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने मनस्थितिमा देउवा थिए । तर, कोइराला असार अन्तिम साता मात्रै स्वदेश फर्किने भएपछि देउवा बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेको बालुवाटार श्रोतले बतायो ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारत भ्रमणबाट फर्केलगत्तै माओवादीबाट प्राप्त नेताहरूलाई मन्त्रालयको टुंगो लगाइने माओबादीको उच्च श्रोतको भनाइ छ । माओवादीबाट महेन्द्रकुमार शाही, सीता नेपाली शिवकुमार मण्डल र हितराज पाण्डे मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षलाई पाँचवटा मन्त्रालय दिने तयारी गरेका छन् । सिटौला पक्षबाट भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् । पौडेल पक्षमा मन्त्रीका आकांक्षी धेरै रहेकाले कसलाई पठाउने भन्नेमा उनी द्विविधामा परेका छन् । रामशरण महत, बलबहादुर केसीले आफैं मन्त्री बन्ने इच्छा देखाएका छन् । तर, महत र केसीको गुटलाई मन्त्री दिने पक्षमा पौडेल छैनन् ।
आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका अलावा महिलाबाट कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई मन्त्री बनाउने स्रोतले बतायो । खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने निश्चित जस्तै रहेको बताइन्छ ।सप्तरीका सुरेन्द्र यादब पनि मन्त्री बन्ने भएका छन।
यसैबीच, अब प्रधानमन्त्री देउवाले आफ्ना सहयोगीलाई दिन सक्ने तीनवटा मन्त्रालय मात्रै छन् । तर करिब दुई दर्जन सहयोगीहरूले देउवासमक्ष लबिङ सुरु गरेका छन् । मदन अमात्य, ध्यानगोविन्द रञ्जित, राधेचन्द्र यादव, भरत शाह, मानबहादुर विश्वकर्मा, हरि नेपाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, वीरबहादुर बलायर, बहादुरसिंह लामा, बहादुरसिंह थापा, अर्जुनप्रसाद जोशी, सुरेन्द्र यादवलगायतले मन्त्रीको आकांक्षा राखेका छन् । दोस्रो चरणमा १२ जना राज्यमन्त्री समावेश गरेर भए पनि सकेसम्म धेरैको चित्त बुझाउने तयारी प्रधानमन्त्री देउवाको छ । माओबादीले राज्यमन्त्री ककसलाई बनाउने भन्ने टुंगो लगाईसकेको बुझिएको छ।