आयातकर्ताको प्रश्न – रेलवे यार्ड खोल्ने, भन्सार चाहिँ किन बन्द ?



वीरगञ्ज । भारतले सीमावर्ती रक्सौल रेलवे स्टेशनमा मालवस्तुको लोडअनलोड २४सै घण्टा खुला गरे पनि भन्सार कार्यालय नखुल्दा आयातकर्ता रेलवेलाई चर्को जरीवाना बुझाउन बाध्य भएका छन् ।

रेलवेले रक्सौल गोदाममा आयातित मालसामानको चाप बढेको भन्दै २४ घण्टे सेवा लागू गरेको थियो । रेलवेले आफ्नो यार्ड खुला राखे पनि सीमावर्ती भारतीय रक्सौल भन्सार र नेपालको वीरगञ्ज भन्सार निर्धा्रित समयमा मात्रै खुल्ने गरेकाले आयातमा जरीवानाको भारी थपिएको आयातकर्ताले बताए । यी कार्यालय राति ११ देखि बिहान ५ बजेसम्म बन्द रहन्छन् । ढाँट लगाएर आवागमन बन्द गरिन्छ ।

मध्यपूर्वी रेलवेले अघिल्लो वर्ष जुलाई ८ देखि यो नियम लागू गरेको थियो । त्यसयता एर्क याक मालसामान आयातमा ८ लाख रुपैयाँसम्म जरीवाना तिर्नु परेको आयातकर्ता माधव राजपालले बताए । स्वदेशी आयातकर्ताले अहिलेसम्म ३० करोड रुपैयाँभन्दा बढी जरीवाना बुझाइसकेको अनुमान वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहेका राजपालको छ । ‘रेलवेले २४ घण्टा लोडअनलोड खुला गरेपछि आयातकर्तालाई झन मार परेको छ,’ उनले भने । यो नियमअघि यो परिमाण ६ करोडभन्दा बढी नभएको दाबी आयातकर्ताको छ ।

यसअघि रेल्वेको रक्सौल गोदाम बिहान ६ बजेदेखि राति १० बजेसम्ममात्र खुल्दै आएको थियो । सो समयबाहेक अन्य बेला लोडअनलोड गर्न प्रतिबन्ध लगाइएको थियो । रेलवेले रक्सौलमा रेल आइपुगेपछि अनलोडका लागि ९ र गोदाममा झारिएको मालसामान लैजान १२ घण्टाको निःशुल्क समय दिने गरेको छ । २४ घण्टे समय लागू हुनुअघि रातको १० बजेदेखि बिहान ६ बजेसम्मको समय गणना नहुनेमा त्यसयता आयातकर्ताले यो समयको पनि जरीवाना तिर्नु परेको छ । स्टेशनमा रेल जुनसुकै बेला आए पनि तत्कालै निःशुल्क समयको समयसीमा प्रभावकारी हुने भएकाले जरीवाना बढी तिर्नु परेको सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बताए । तोकिएको समयमा रेलको मालसामान लोडअनलोड नभएमा एउटा वेगनको प्रतिघण्टा १ सय ५० भारतीय रुपयाँका दरले जरीवाना लिने गरेको छ ।

भन्सार बन्द भएको समयमा आयातित वस्तुको जाँचपास गराउन नपाइने भएकाले रेलवेको नियम आयातकर्ताका लागि खर्चको भार बढाउने उपायमात्र सावित भएको अध्यक्ष शर्माले बताए । रातमा यार्डमा काम गर्ने मजदूरसमेत नपाइने आयातकर्ताले बताए । शर्माको नेतृत्वमा सङ्घका पदाधिकारीहरूले गत महीना भारतीय रेलवे राज्यमन्त्री मनोज सिन्हालाई भारतको पटनामा भेटेर यो समस्याका बारेमा जानकारी गराएका थिए । राज्यमन्त्री सिन्हाले रेलवे अधिकारीहरूलाई एक हप्ताभित्र निकास निकाल्न निर्देशन दिए पनि अहिलेसम्म समस्या जस्ताको त्यस्तै रहेको शर्माले बताए ।

रक्सौलमा अधिकांश स्वदेशी उद्योगका कच्चा पदार्थ आउँछ । कोइला, क्लिङ्कर, जिप्सम, स्ल्याग, आइरन ओर, नुनलगायत मालसामान रक्सौल–वीरगञ्ज हुँदै नेपाल भित्रिने गरेका छन् । रातिको समयमा ढुवानीका साधनसमेत उपलब्ध नहुने भएकाले रेलवेको नियम अव्यावहारिक भएको आयातकर्ता राजेश क्यालले बताए ।
रक्सौल यार्ड २४ घण्टा खोलेर आयातकर्तालाई जरीवानाको भारमात्र बढाउने काम भएको उनले बताए । ‘कि दुवैतिरका भन्सार पनि २४ घण्टा खोलेर काम हुनुपर्छ, होइन भने रेलवेले २४ घण्टे नियम हटाउनुपर्छ,’ उनले भने ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेल भने भन्सार कार्यालय तोकिएको समयभन्दा बढी खोल्न नसकिने बताउँछन् । ‘अन्तरराष्ट्रिय सिमानामा रहेको भन्सार कार्यालय २४ घण्टा खोल्ने अभ्यास छैन । सुरक्षा संवेदनशीलताका कुरा पनि हुन्छन्,’ उनले भने ।  अभियान दैंनिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्