सहरी विकास मन्त्रालयको काम प्रभावित



हाम्रो इकोनोमि

काठमाडौँ । नयाँ संरचना अनुरुप दरबन्दी सिर्जना हुन नसक्दा सहरी विकास मन्त्रालय र यसअन्तर्गतका निकायमा कर्मचारीको अभाव खड्किएको छ ।

एकातर्फ आवश्यकता अनुसारको दरबन्दी नहुनु अर्कोतर्फ मन्त्रालयमा दरबन्दी भएका कर्मचारी मन्त्रालय अन्तर्गतका आकर्षक निकाय र विभागमा काज सरुवा भई जाने परीपाटीको विकास हुँदा मन्त्रालयमा भने कर्मचारीको अभाव खड्किएको छ ।

केही कर्मचारी काज जाँदा र केही पदपूर्ति हुननसक्दा दरबन्दीको करिब आधामात्रै कर्मचारी अहिले मन्त्रालयमा कार्यरत छन् । जसकारण दरबन्दी अनुसारका कर्मचारी नहुँदा मन्त्रालयको दैनिक कार्यसमेत प्रभावित भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता रमेशकुमार सिंहले २०५८ सालमा रु नौ करोड बजेट हुँदाको मन्त्रालयको दरबन्दी र अहिले रु ३० अर्बको बजेट हुँदाको दरबन्दी एउटै हुँदा समस्या परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकातिर कर्मचारीको अभाव छ, अर्कोतिर हाम्रो प्राविधिक मन्त्रालय भएकोले पुरातत्व विभाग, शिक्षा मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म आवश्यकताअनुसार कर्मचारी पठाउनुपर्ने बाध्यता छ । ”

मन्त्रालयअन्तर्गतका अन्य निकायमा आकर्षक सेवा सुविधा भन्दा पनि कर्मचारीको अभाव भएका कारण मात्रै काज सरुवा गरिएको जिकिर गर्नुभयो ।

मन्त्रालयमा चारजना उपसचिवको दरबन्दी भए पनि एकजना मात्रै हाल कार्यरत छन् । बाँकी तीनमध्ये एकजना निलम्बनमा परेका छन् भने बाँकी दुई पद रिक्त छ ।

मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी आठ जनाको भए पनि चारजना मात्रै कार्यरत छन् । बाँकी चारजनामध्ये एकजना बाहिरी चक्रपथ आयोजना, एकजना डिभिजन कार्यालय दोलखा र दुईजनाको पदास्थपन हुन बाँकी छ ।

यस्तै १० जना इन्जिनियरको दरबन्दीमा ६ जना मात्र मन्त्रालयमा कार्यरत छन् । बाँकी दुईजना काठमाडौँ उपत्यका विकास प्राधिकरणमा काजमा र दुई जनाको दरबन्दी रिक्त छ ।

मन्त्रालयमा १० शाखा अधिकृतमध्ये पाँच जनामात्रै मन्त्रालयमा खटिएका छन् । बाँकी पाँचमध्ये एकजना काठमाडौँ उपत्यका विकास प्राधिकरण र तीन जनाको पदस्थापना हुनबाँकी छ ।

त्यस्तै नायब सुब्बाको १६ दरबन्दीमध्ये नौ जनामात्रै मन्त्रालयमा कार्यरत छन् । बाँकी दुईजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा र दुईजना मेलम्ची खानेपानी आयोजनामा काजमा गएका छन् । ती आयोजना र समितिको तलब भक्ता आकर्षक रहेकै कारण त्यहाँ जान कर्मचारीबीच तछाडमछाड हुने गरेको छ ।

कार्यभार सम्हालेलगत्तै सहरी विकासमन्त्री प्रभु साहले मन्त्रालय अन्तर्गतका निकायबाट भएका काज सरुवा खारेज गरेर आ–आफ्नो दरबन्दी अनुसारका क्षेत्रमा कर्मचारीलाई खटाइने बताउनुभएको थियो । तर हालसम्म पनि त्यो कार्यान्वयन हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...