लोकमानको मुद्धामा खिलराज स्वच्छाचारी : सर्बोच्च अदालत



हाम्रो इकोनोमि

काठमाडौँ । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गरेको छ ।

कार्कीको योग्यतासम्बन्धी मुद्दाको पूर्ण पाठमा सर्वोच्चले तत्कालीन संवैधानिक परिषद् र राजनीतिक संयन्त्रको निर्णयलाई गैरसंवैधानिक ठहर्‍याएको हो ।

प्रधानन्यायाधीशमा बहाल भएकै अवस्थामा अन्तरिम मन्त्रिपरिषदको अध्यक्षता गरेका रेग्मीले २०७० वैशाख २२ मा संवैधानिक परिषदको बैठक डाकेका थिए । रेग्मी नेतृत्वको पहिलो बैठकको निर्णयको पहिलो बुँदामै लोकमानको नियुक्तिको विषय समावेश छ । उक्त निर्णयमा रेग्मीसहित परिषदका तत्कालीन सदस्यहरू कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे, महिला, बालबालिकामन्त्री ऋद्धिबाबा प्रधान र सूचना तथा शिक्षामन्त्री माधव पौडेलले हस्ताक्षर गरेका थिए । संवैधानिक परिषद् बैठक हुनुअघि नै २०६९ चैत ३ मा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसँगै कार्कीको नियुक्तिलाई प्रमुख एजेन्डा बनाइएको थियो ।

बैठकमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका विजयकुमार गच्छदार, एमाओवादीका तत्कालीन नेता बाबुराम भट्टराई, कांग्रेस नेता शेरबहादुर देउवा, तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र एमालेका उपाध्यक्ष वामदेव गौतम सहभागी थिए । निर्णयको अन्त्यमा भने दाहाल, कोइराला, खनाल र गच्छदारले मात्र हस्ताक्षर गरेका थिए ।

‘विवादित सिफारिस यान्त्रिक र स्वेच्छाचारीपूर्ण देखिएको छ,’ सर्वोच्चको निर्णयको पूर्णपाठमा भनिएको छ, ‘संवैधानिक परिषद्ले वास्तविक अर्थमा आफ्नो बुद्धिमता प्रयोग गरेको पाइएन ।’ निर्णयकर्ताले बुद्धिमताको प्रयोग गरेको भन्ने जिकिरको आडमा स्वेच्छाचारी तवरबाट भएको निर्णयले कानुनी वैधता प्राप्त गर्न नसक्ने भन्दै सर्वोच्चले संवैधानिक परिषदको कामकारबाही न्यायिक परीक्षणको विषय हुने निष्कर्ष निकालेको हो ।

कान्तिपुरमा समाचार छ

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...