वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै सञ्चालन गर्ने भएको छ । निश्चित संस्थाहरूबाट तालिम सञ्चालन हुँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन मार्फत नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
२०६० सालदेखि निश्चित संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन हुँदै आएको छ । हाल वैदेशिक रोजगार विभागमा सूचीकृत भएका १ सय ५३ संस्थाले अभिमुखीकरण तालिम दिँदै आएका छन् । सरकार मार्फत जाने श्रमिकका हकमा भने भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मार्फत अभिमुखीकरण तालिम हुँदै आएको छ ।
ती बाहेकका हकमा अभिमुखीकरण तालिम प्रदायक संस्थामार्फत अभिमुखीकरण गरिँदै आएको हो । श्रम मन्त्रालयले पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्न लागेको हो ।
पूर्वप्र्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) लाई पूर्णरूपमा अनलाइन प्रणालीमा आधारित बनाउने योजना श्रम मन्त्रालयको रहेको छ ।
सरकारको उक्त योजनापछि हाल तालिम दिन सूचीकृत १ सय ५३ संस्थाको भविष्य संकटमा पर्ने देखिएको छ । ती संस्थाले वैदेशिक रोजगार ऐन २०६४ तथा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा गरेर तालिम प्रदान गर्दै आएका छन् ।
त्यसका लागि उनीहरूले प्रतिप्रशिक्षार्थी २ हजार १ सय रुपैयाँ शुल्क लिने गरेका छन् । वैदेशिक रोजगार विभागले उक्त शुल्क ७ सय मात्रै रहेको र त्योभन्दा बढी लिएको पाइए अनुमति (इजाजतपत्र) रद्ध गर्ने चेतावनी दिएको छ ।

