पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवानिकट एक नेताले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् । निवर्तमान कार्यवाहक सभापति खड्कानिकट स्रोतले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने छ ।
सभापति खड्काले जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । उनीनिकट स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा गरिने तय भएको जानकारी दिए । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बेलाएका छन् ।
उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेबाट सुरू हुनेछ । बैठक दुई दिनसम्म चल्ने तत्कालीन एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । ती नेताका अनुसार बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् । उनीहरू मध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए ।

