जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्यो विरोधका कार्यक्रम
नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए । आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो । स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएका ओलीलाई भर्ना गरिएको छ ।
एमालेले गरेका निर्णयहरु यस्ता छन्–
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।

