कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु
कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको हो । कैयौँ घाइते भएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताए । विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।
बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।
रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिन हर्कुलस सी–१३० यातायात विमान सुरक्षा बलका सेनाहरू बोकेर प्यूर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुखद दुर्घटनामा परेको बताए । उनले पेरुभियन सीमा नजिकै भएको घटनालाई ‘देशको लागि धेरै दुखद दिन’ भनेका छन् । विमानमा आगलागीका कारण भित्र भण्डारण गरिएको गोला बारुद पनि विस्फोट भएको छ ।


