कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
नेता मीन विश्वकर्माले सर्वोच्चले कांग्रेस आधिकारिकताको मुद्दा टुंगो नलगाएसम्म आफूहरूको कमिटीको बैठक, छलफल जारी रहने बताए । आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको उनको भनाइ छ ।
विश्वकर्माले भने, केन्द्रीय कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरूको बैठकले केन्द्रीय समितिमार्फत चुनावी समीक्षा गर्ने र आगामी रणनीति तय गर्ने निर्णय गरेको छ । उहाँले शीर्ष नेतासँगको सहमतिमा मिति तय गर्नु हुनेछ ।
स्रोतका अनुसार बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाणलगायतका २ दर्जन जति नेता सहभागी थिए । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति अस्वीकार गरेको देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ ।


