शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध
शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।
चितवनबाट बिहानै बाँकेको कोहलपुरका लागि हिँडेका बासुदेव सिंहले आफू ४ घण्टादेखि दाउन्नेको जाममा फसेका र सर्वसाधारणलाई जाडोले निकै प्रभावित पारेको बताए । उनले भने, अगाडि पछाडि नै लामो जाम भएकाले समस्या भइरहेको छ ।
राजमार्गमा केही दिनदेखि सवारी साधनको लामो जाम लाग्ने गरेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै सवारी साधनको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाई भएको छ ।
नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब एक हजार पाँच सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।


