सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ
केही दिनयता जेन-जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ । विभिन्न माग राख्न आएका जेन-जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको हो ।
ज्ञापन पत्र भन्दै विभिन्न समूह माग बुझाउन आउने हो-हल्ला गर्ने हुन थालेपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति रहेको सुरक्षा अधिकारीले बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरी तैनाथ गरिएको छ ।
जेन-जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन-जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतले बतायो । हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए ।
भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो । सुधन गुरुङ पनि मागपत्र खल्तीमा लिएर पुगेको थियो । आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगरको पुलसम्म पुर्यायो ।


