पार्टी छाडेकाहरुलाई एमालेको ‘घर फर्क अभियान’ आरम्भ
नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो क्रममा सोमबार काठमाडौँमा हुने कार्यक्रममा एमाले छाडेर बाहिर बसेका एक सय भन्दा बढी नेता कार्यकर्ता फर्कँदैछन् । पार्टीमा फर्किनेहरुलाई विशेष किसिमले स्वागत गरिने एमाले नेता महेश बस्नेतले बताए । सोमबार दिउँसो राष्ट्रिय सभागृहमै ‘घर फर्क राष्ट्रिय अभियान’ आरम्भ हुँदैछ ।
काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ । फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ । उनका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ ।
सामान्यतया महाधिवेशनको मिति तोकिएपछि सदस्यता नवीकरण र स्थानान्तरण बन्द हुन्छ । तर, पार्टीमा फर्किएर काम गर्न चाहनेहरूका हकमा कुनै न किसिमले सहज बनाउने निर्णय गरिने अधिकारीले बताए । उनका अनुसार, केही नेता आयोजकका रूपमा महाधिवेशनमा सहभागी हुने छन् । फर्किनेहरूलाई पार्टी छोड्दाको हैसियतभन्दा तल नपारिने नीति लिइएको एमालेस्रोतले जनाएको छ ।


