संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसले सुरु गर्यो हस्ताक्षर अभियान
संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउनका लागि ‘हस्ताक्षर क्याम्पेनिङ’ सुरुवात गरिएको विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए ।
नेपाली कांग्रेसले संसद् पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो सरकारको गठन र यो विघटन चाहीँ असंवैधानिक र अलोकतान्त्रिक हो मात्रै भनेको छ, घिमिरेले भने, असंवैधानिक र अलोकतान्त्रिक हो चाहीँ भन्यो, त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय गरेको छैन । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्धमा न्यायलयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हामीले हस्ताक्षर क्याम्पेनिङ सुरुवात गरेको हो ।
उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची पार्टीमा बुझाइनेछ । ‘यो सिग्नेचर हामीले पार्टीमा बुझाउँछौं, उनले भने, यो निर्णय चाहीँ पार्टीले नै एक भएर गरोस् भन्ने हाम्रो आग्रह हो । यसअघि एमालेले पनि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।


