एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा, उद्घाटन खुलामञ्चमा
नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको छ । एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौं महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने पूर्वनिर्णय सच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।
काठमाडौंमा पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशनस्थल भृकुटीमण्डप रोजिएको पोखरेलको सचिवालयले बतायो । उद्घाटनका लागि खुलामञ्च रोजिएको छ । यद्यपि, पुननिर्माणकार्य भइरहेको कारण काठमाडौं महानगरपालिकाले उक्त स्थानलाई सार्वजनिक प्रयोगका निम्ति खुला गरेको छैन । महाधिवेशन हुने समयभित्र खुला गरिए मात्रै त्यहाँ उद्घाटन गरिने, अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।
भृकुटीमण्डपको चौर र कभर्ड हल प्राप्तिका लागि एमाले केन्द्रीय कार्यालयले भृकुटीमण्डप व्यवस्थापन समितिलाई आज पत्राचार गर्ने र शुल्क पनि बुझाइने पोखरेलको सचिवालयले जनायो । चौरमा टेण्ट लगाएर हल बनाइने र कभर्ड हलमा खाना खाने मेस बनाइने भएको छ । मतदान र मतगणनाका लागि राष्ट्रिय सभागृहको हल बुक गर्ने तयारी छ । महाधिवेशन अवधिमा प्रदर्शनी मार्ग रुटमा सर्वसाधारणको आवागमनमा अवरोध नहुने कुरालाई ध्यानमा राखिएको केन्द्रीय कार्यालय स्रोतले जनायो ।


