झाँक्रीको समर्थनमा नेकपा एसमा पार्टी पुनर्गठनको माग
एकीकृत (समाजवादी)को विभिन्न संगठनमा आबद्ध ५२६ जना पार्टी पुनर्गठनको माग गरेका छन् । माओवादी केन्द्रसँग एकताको प्रयास भइरहेको बेलामा संयुक्त अपिल जारी गर्दै अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
अपिलमा भनिएको छ, अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा -एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ । यो प्रस्तावलाई स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पनि समर्थन गरेकी छन् । समयको माग अनुसार पार्टीमा जेनजी पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले भनेकी छन्, यो मात्र पुस्ता हो, न वर्ग हो, न जातजाति हो, न त यो विचार धारा हो, न भूगोल वा क्षेत्र हो । यो त मात्र एउटा निश्चित समयमा जन्मेका मान्छेहरूको समूह मात्र हो । त्यसैले यसलाई राजनीति र विचारधारात्मक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ । जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ ।
‘राजनीतिक दलका युवा विद्यार्थी सङ्गठनहरू समाजमा प्रभावहीन भएकै कारण यो पुस्ताले स्पेस लिएका हुन, सङ्घर्ष सुरु गरेको हो । विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाईज्याक गरे । तपाईँहरूको प्रयास ठिक छ उनले भनेकी छन्, मिल्नेहरू जोडिँदै जान्छन, नमिल्नेहरू छोडिँदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडी बढ्नुस् मेरो सधैँ साथ र धेरै शुभकामना छ। त्यसो त हालै बसेको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले अध्यक्ष माधव नेपालको राजीनामा मागेका थिए । आजबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन् ।


