नेतृत्व कार्यकर्ताले छान्ने हो, पत्रकारले होइन : ओली
आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले पार्टीको नेतृत्व सम्पादकले छान्ने भए पोहोर परार नै छानिसक्ने भन्ने खालको व्यंग्य गरे । उनले पार्टीको नेतृत्व कार्यकर्ताले छान्ने बताए ।
अहिलेसम्म पार्टीमा उत्तराधिकारी तयार गर्न नसकेको भन्ने सम्पादकहरूको प्रश्नमा उनले उल्टै प्रश्न तेर्स्याउँदै भने, तपाईंहरू सम्पादक भइरहेको अर्को सम्पादक नभएर, उत्तराधिकारी नपाएर हो ? कोही लेख्न जान्ने अर्को नभेट्टाएर हो- तपाईंहरू भइराखेको सम्पादक ? अरू पनि होलान् नि ! तर, पनि अहिले तपाईंहरूले चलाउनु पर्या छ ।
अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व लिन सक्ने सयौं नेता तथा कार्यकर्ता रहेको दाबी गरे । उनले अगाडि भने, एमालेमा हजारौं नेता छन् । लाखौं कार्यकर्ता छन् । विभिन्न तहको नेतृत्व गर्न सक्ने मान्छेहरू छन् । केन्द्रीय तहमा बसेर धेरै वर्ष काम गरेका सयौं मानिसहरू छन् । उनीहरूले नेतृत्व गर्न सक्छन् । नेतृत्वको अभाव छैन ।
आफूलाई नै पार्टीको क्याप्टेन बन्ने राय पार्टीपंक्तिभित्र रहेको दाबी गर्दै उनले हालै ओमानमा नेपाली क्रिकेट टिम अपराजित बन्दै टी-२० विश्वकपमा छनोटको प्रसंग कोट्याए ।
उनले भने, ‘दुनियाँ भरिबाट खेलाडीहरू गएका थिए । दुनियाँभरिबाट टिमहरू लडेका थिए । नेपाल विश्वकपको प्रतिस्पर्धाको छनोटमा आयो । अरू थुप्रै खेलहरू थिए । थुप्रै आकांक्षीहरू थिए । नेपालले नखेलेको भए अर्को टिम छनोटमा परिहाल्थ्यो नि ! त्यो ठाउँ त खाली हुँदैन थियो नि ! मैले नखेल्ने हो भने, एउटा क्याप्टेनले टिम छोडेर अर्को क्याप्टेन निस्कँदैन र ? निस्कन्छ नि ! तर अहिले राय के छ भने केपी ओली नै क्याप्टेन हो भन्ने राय छ ।


