एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु
नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् ।
‘बोल्न बाँकी नेताहरुलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने, बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ । आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्ना धारणा राखेपछि बैठक समापन हुनेछ ।
जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्ने बताइएको छ ।


