एमाले केन्द्रीय कमिटीको १० औं बैठक आजबाट सुरु
नेकपा एमाले, केन्द्रीय कमिटीको १० औं बैठकको शुरुमै अध्यक्ष केपी ओलीले प्रस्ताव पेश गरेपछि बैठक अगाडि बढ्ने भएको छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार बैठकमा प्रस्तुत गर्ने केही जरुरी प्रस्ताव हिजो राति नै तयार पारिसकिएको छ । उक्त प्रस्ताव ओलीले उदघाटन मन्तव्यसँगै पेश गर्ने कार्यक्रम छ ।
जावलाखेल, भनिमण्डलस्थित बैठक स्थलमा राष्ट्रिय युवा संघ नेपालको विशेष सुरक्षादस्ता परिचालित हुने भएको छ । मुख्य मुख्य नेतालाई मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बैठकस्थलमा लगिने संघका उपाध्यक्ष विनय शाहले बताए ।
उक्त तयारीका लागि मंगलबार बेलुकी बैठकस्थलमै संघको बैठक सम्पन्न भएको शाहले बताए । उनका अनुसार बैठकस्थल रामबाग महलमा १०० जनाको विशेष सुरक्षादस्ताले पहरा दिने छ । नेताहरूको स्कर्टिङका लागि त्यति नै संख्यामा मोटरसाइकल र ५० वटा चारपांग्रे (कार-जिप) तयार पारिएको उपाध्यक्ष शाहले बताए ।
बैठक चल्ने तीनै दिन बैठकस्थलमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौं बाहिरबाट आएका नेताले बसोबाससहित बिहान-बेलुकीको खानाको व्यवस्था आफैं गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
बोल्ने पालो ‘ज्ञ’ बाट शुरू
अध्यक्ष ओलीले बैठकमा प्रस्ताव पेश गरेपछि त्यसउपर बोल्न चाहनेलाई वर्णानुक्रम (अल्फाबेटिक अर्डर) का आधारमा उल्टोबाट बोल्न दिइने भएको छ । देवनागरी वर्णानुक्रम ‘अ’ बाट शुरू भई ‘ज्ञ’ मा टुंगिन्छ । त्यसअनुसार, उल्टो, अर्थात् ‘ज्ञ’ बाट नाम आउनेदेखि बोल्ने पालो दिइने भएको हो ।


