सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ : दुर्गा प्रसाईँ
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् ।
उनले कार्यक्रममा भने, मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ?
प्रसाईँले आफू ‘एक्का’ भएको जिकिर गरे । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्डबिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।
अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईँले टिप्पणी गरे । बङ्गलादेशको बाछिटा नेपालमा छिर्यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ‘ उनको भनाइ थियो ।
प्रसाईँले ओलीलाई वाल्मिकी बन्ने अवसर भएको बताउँदै कार्यकर्ता समेतले गल्ती गर्यौं अब सच्चिन्छौँ भन्दै आफ्नो घरमा आए आश्रय दिने बताए । केपी ओलीकै कारण सबै पार्टी सक्किएको उनको दाबी छ ।चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए ।


