नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।
‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।
स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ । पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।
ती बाहेक अरूको हकमा सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेर्ने भनिएको उनले बताए । यसक्रममा शपथ लगत्तै काम सुरु गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री कार्यालयले राहदानी रोक्काबारे परामर्श गरेर प्रक्रिया समेत अघि बढाएको उच्च स्रोतले जानकारी दियो ।
‘राहदानी रोक्काबारे केही परामर्श भइसकेको छ । त्यसपछि प्रक्रिया अघि बढाएका छौं । अहिले काम हुँदैछ,’ उच्च स्रोतले भन्यो । सरकारले केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो । छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानुनबारे ब्रिफिङ गरेको थियो ।
सो क्रममा विभागले कस्तो अवस्थामा राहदानी रोक्का हुने, त्यसका लागि के–के चाहिने जस्ता विषयहरूबारे जानकारी गराएको थियो । कुनै आधार प्रमाण बिना कसैको पनि राहदानी रोक्का गर्न नमिल्ने, यदि रोक्का गर्नुपरेमा त्यसको कारण खुल्ने किसिमको पत्र चाहिने कानुनी व्यवस्थाबारे छलफल भएको थियो ।
अहिलेसम्म कुनै पनि शीर्ष नेताको राहदानी रोक्का नभए पनि यसको अहिले तयारी भने अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । उच्च स्रोतका अनुसार तीन मुख्य दलका शीर्ष नेताहरूको राहदानी रोक्ने प्रक्रिया अघि बढाइएको हो । राहदानी रोक्का गनुपर्ने कारणसहितको पत्र अध्यागमन विभागमा पुगेपछि राहदानी रोक्का हुने बताइएको छ । अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको प्रक्रिया समेत अघि बढाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार मात्रै विभागको टोली पुगेर अनुसन्धान अघि बढाएको थियो । हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो ।
जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनीहरूको घर जलेको थियो । जलेको उक्त घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो । यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।
देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो । यता खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए ।
जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ । यता देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै रकम राख्ने सुरुङ र पैसा नभएको दाबी गरेको थियो । उक्त सुरुङ नभई पानी ट्यांकी रहेको दाबी देउवाको सचिवालयको थियो । विभागले बुधबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को खुमलटार निवासमा पुगेर मुचुल्का गरेको छ । प्रचण्डको घरमा पनि जलेको रकमका केही टुक्राहरू भेटिएको भन्दै तस्वीरहरू बाहिरिएका थिए ।
स्रोतकाअनुसार विभागको टोली एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर पनि मुचुल्का गरिसकेको छ । ओली र प्रचण्ड निवास दुवै जेनजी आन्दोलनको क्रममा जलाइएको थियो । २३ भदौमा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु हुँदा ओलीले नै सरकारको नेतृत्व गरेका थिए । गृहमन्त्री भने कांग्रेस नेता रमेश लेखक थिए ।


