प्रकाशमानको घरमा कांग्रेसका पूर्वपदाधिकारीको बैठक
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक बसेको छ । बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् । सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।
समसामयिक विषयमा छलफल गर्न बसेको बैठकले सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गर्ने निर्णय भएको एक सहभागी नेताले जानकारी दिए ।यसैगरी बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ ।अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको ती नेताले बताए ।


