हाम्रो इच्छाशक्ति मरेको छैन : उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन । साथै उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे । एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे ।
‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडी आइपुगेको हो’ पोखरेलले भने ।


