प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन् । संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।
ओलीले आफ्नो स्टाटसमा भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ ।
उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । ओलीले हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए । उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताए ।


