तीन ठुला दलले यसरी मनाउँदैछन् संविधान दिवस



हाम्रो इकोनोमि

 

 

जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने तयारी गरेका छन् ।

जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा दलहरु छन् । त्यसैले उनीहरुले संविधान रक्षालाई नै केन्द्रमा राखेर दिवस मनाउने जनाएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर गरिसकेको जनाएको छ । बुधबार केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भनेका थिए, संयमतापूर्वक दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ ।

यसैगरी नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले संविधान दिवस मनाउन आह्वान गर्दै पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । त्यसैले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना गर्न भनिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रको हकमा च्यासलस्थित पार्टी कार्यालयमा र राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाइने बताए ।

नेकपा माओवादी केन्द्रले पनि जेनजी आन्दोलनमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमै कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने जनाएको छ । संविधान माथि खतरा पैदा भएको भन्दै हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले संविधान र व्यवस्थाको रक्षाका लागि आह्वान गर्दै दिवस मनाउने जानकारी दिए । उनले शहीदहरुको सम्झनामा दीप प्रज्वलन लगायतका कार्यक्रम पनि आयोजना गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष पुष्प ओलीले बदलिँदो परिस्थिति अनुसार संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै दिवस मनाउने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...