प्रचण्डको राजीनामा मागे जनार्दनले
जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ । यस विषयमा उनले पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् ।
छलफलमा सहभागी एक कार्यकर्ताले नेता शर्मासँगको भनाइ उद्धृत गर्दै भने, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माको भनाइ छ ।
जेनजी आन्दोलनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् । पार्टी शीर्ष नेताहरुको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएका जनार्दनले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको जनाएका छन् ।
जनार्दनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने जनाएका छन् । उनले जेनजी आन्दोलनबारे गरेको संश्लेषण र विगतदेखि पार्टीमा उठाउँदै आएका मागबारे पुनः पार्टी पंक्तिमा छलफल थालेका छन् । उनले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाएका थिए । तर त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रचण्ड पक्षकाले भने जनार्दनमाथि पार्टीमा अराजकता मच्चाइएको आरोप लगाउने गरेका छन् ।


