जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु
जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।
आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक भारतीय पर्यटक महिला लडेर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका निम्ति अस्पताल त लगियो ।
तर, उनको अस्पतालमा मृत्यु भएको प्रवक्ता घिमिरे बताउँछन् । अन्य केही मृतक भारतीय नागरिक भएको सूचना प्राप्त भएको, तर पहिचान नभएको उनले बताए । हामी सबैको पहिचान खुलाएर व्यवस्थित विवरण सार्वजनिक गर्ने छौँ, पहिचान भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ’ उनले भने । त्यसबाहेक कतिपय कर्मचारी पनि मारिएका छन् । कर्मचारीमध्ये निजामति र फौजी दुबैतिरका छन् ।


