सुशीला नमान्ने भन्दै एक समूहले माग्यो कुलमान
जेनजी आन्दोलनकै नाममा देश लगभग राज्यविहीन अवस्थामा रहेको बेला आन्दोलन आह्वानकर्ताहरूकै अलग-अलग समूह खडा भएका छन् । जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ भने आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको छ ।
कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ । उता आजै जेनजी नेपालकै नामबाट जारी भएको अर्को वक्तव्यमा जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषदको नेतृत्व कुलमान घिसिङले गर्नुपर्ने उल्लेख छ । आफूहरूको पहिलो प्राथमिकता बालेन साह रहे पनि बालेनले यो प्रक्रियामा रुचि नै नदेखाएपछि घिसिङ उपयुक्त पात्र रहेको वक्तव्यमा उल्लेख छ ।
सुशीला कार्की उमेर र संवैधानिक दुवैरुपमा उपयुक्त नभएको जिकिर वक्तव्यमा गरिएको छ । जेनजीका नाममा देशमा तामासा र मजाक चल्न थालेको टिप्पणी हुन थालेको छ । हिजो आन्दोलनको समर्थमा सामाजिक सञ्जालमा ट्रेण्डिङ चलाउनेहरू नै अहिले आएर पश्चाताप व्यक्त गर्दै यस्तो अवस्थाको कल्पना नगरिएको भन्न थालेका छन् । अर्कोतिर सैनिक मुख्यालय बाहिर हिजोदेखि विभिन्न व्यक्तिका समर्थकको प्रदर्शन चलिरहेको छ ।
यस्तो अवस्थामा जेनजीका सबैभन्दा रुचि र अभिभावक मानिएका बालेन साह, उनीहरूबाट अघि सारिएका सुशीला कार्की, कुलमान घिसिङलगायतले साझा धारणा बनाएर तत्काल नेपाली सेनामार्फत राष्ट्रपतिसँग छलफल गर्नुपर्ने देखिन्छ । नत्र देशमा आगो लगाएर जिम्मेवारीविहीन बन्ने छुट कसैलाई छैन ।
यसका साथै आन्दोलनको दोस्रो दिनदेखि लगभग निष्क्रिय भएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले नेपाल सेना समेतको समन्वय युनिफाइड कमाण्ड बनाएर शान्ति सुरक्षा बहाली गर्ने,जेल र हिरासतबाट भागेकाहरुलाई खोजेर ल्याउने,लुटिएका हातहतियार खोज्ने र अवान्छित व्यक्ति र समूहलाई बल प्रयोग गरेर भने पनि लगभग प्राणविहीन भएको समाजमा प्राण फर्काउनुपर्ने देखिएको छ ।



