सरकारबाट बाहिरियो नाउपा, राजीनामा बुझाउने तयारी
नागरिक उन्मुक्ति पार्टी नाउपाले सङ्घीय सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । नाउपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी छन् । पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राज्यमन्त्री चौधरीले पनि राजीनामा बुझाउने तयारी गरेका छन् ।
संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरिएको उनले बताए । हामीले सरकारबाट बाहिरिने निर्णय गरिसकेका छौँ । मैले राजीनामा पत्र तयार गरिसकेको छु उनले भने ‘संरक्षक ज्यू र अध्यक्ष ज्यूको निर्देशन आए लगत्तै प्रधानमन्त्री ज्यूलाई पत्र बुझाउँछु ।
समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् ।


