पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ ।
बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।
तत्कालीन मन्त्री बस्नेत नेतृत्वमा नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल भएको थियो । त्यसपछि प्राधिकरणले बजेट र कार्यक्रम स्विकृत गर्ने प्रस्ताव मन्त्रालयमा पठायो । अर्थशास्त्री विमला पोखरेलको नामबाट शुरु भएको राय उपसचिव, सहसचिव हुँदै मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङसमक्ष पेस भएको थियो । २३ भदौ २०७४ मा मन्त्री बस्नेतले दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरिएको भनी लेखेका छन् । त्यही निर्णयमा एउटा वाक्य घुसाउँदै उनले थपेका छन्, ‘यसका साथै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी -भ्वाईस ओभर इन्टरनेट प्रोटोकल, जसलाई बोलीचालीको भाषामा कल बाईपास भनिन्छ-, नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।


