जेठ १५ मा हामी सडकमा जानैपर्छ, एमालेमात्र हैन हरेक गणतन्त्रवादीले उत्सव मनाउनैपर्छ
कृपा भण्डारी,
जेठ १५ गते गणतन्त्र दिवस हो । त्यो भनेको २०६३ साल जेठ १५ गते सार्वभौम संसदले २५० वर्षदेखि देशको शासन गर्दै आएको राजतन्त्रलाई विधिवत विघटन गरेको दिन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १९ मा जननिर्वाचित संसद विघटन गरे । अनि सक्रिय शाही शासनको अभ्यास शुरु गरे । यो घटनाले २०४६ सालको संयुक्त जनआन्दोलनबाट हासिल भएका सम्पूर्ण उपलब्धि अपहरित वा विघटन गरेको थियो ।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट हासिल उपलब्धिलाई जसरी राजाले खोसेर सक्रिय शासकीय भूमिकामा प्रस्तुत भए, त्यसले बहुदलीय प्रतिस्पर्धामा आधारित प्रजातान्त्रिक राजनीतिक व्यवस्थालाई नै उनले विघटन गरेका थिए । उनी त्यस्तो शासन प्रणालीका निम्ति आतुर थिए, जसलाई नेपाली जनताको लामो बलिदानी संघर्षद्वारा २०४६ चैत २६ मा परास्त गरिएको थियो । तसर्थ जननिर्वाचित सरकारसँगै संसदको पनि विघटन गरिएको घटना जनताका निम्ति सह्य थिएन ।
संसदको पुनःस्थापनालाई मूल माग बनाएर देशमा चरणबद्ध आन्दोलन भए । राजा ज्ञानेन्द्रले आन्दोलनकारी जनताको शान्तिपूर्ण आग्रह वा मागलाई सुन्ने त टाढैको कुरा, उल्टै २०६१ माघ १९ मा घोषित रुपमा सम्पूर्ण शासनसत्ता आफूमा निहित गरे । मुलुकमा सञ्चार शून्यताको स्थिति सिर्जना गर्दै जनताका आधारभूत अधिकारमाथि हस्तक्षेप गरे । राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवाहरुको धरपकड व्यापक भयो ।
२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्रै भएको एक रक्तपातपूर्ण घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिसहित राजपरिवारका प्रायःजसो सदस्य मारिए । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र उनका परिवारका सदस्य भने जीवित रहे ।
उक्त घटनापछि राजपरिवारका एकमात्र जीवित परिवारका मूली ज्ञानेन्द्र शाह महाराजाधिराज घोषित गरिए । उनै ज्ञानेन्द्र शाहले राजा भएको १५ महिनापछि २०५६ सालको आमनिर्वाचनबाट निर्वाचित सर्वभौम संसद विघटन गर्दै २०४६ सालका सम्पूर्ण उपलब्धि विसर्जित गरे ।
राजा ज्ञानेन्द्रले २०६१ माघमा शासनसत्ता नै हत्याएपछि विभिन्न राजनीति दल, नागरिक संस्था एवं जनता स्वःस्फूर्त सडकमा उत्रिए । राजनीतिक दलहरूले राजतन्त्रको अन्त्यसहितका सम्झौता गरे । यसरी २०६२ मा शुरू भएको दोस्रो जनआन्दोलन २०६३ वैशाखसम्म चल्यो । जनता नारायणहिटी राजदरबार कब्जा गर्ने र निरंकुश शासक ज्ञानेन्द्र शाहलाई लखेट्ने तहमा सडकमा उत्रिए । यसबाट अत्तालिएर उनले संसद पुनःस्थापनाको घोषणा गर्दै ‘जनताको नासो जनतालाई नै’ फिर्ता गरे । र, पुनःस्थापित संसदले जेठ १५ गते राजसंस्थाको विधिवत अन्त्य गर्दै ज्ञानेन्द्र शाह र उनको परिवारलाई सम्मानित नागरिकको दर्जा दिँदै नारायणहिटी दरबारबाट बाहिर पठाउने निर्णय गर्यो ।
त्यसैले जेठ १५ जनताले जितेको दिन हो । जितेका जनताले यो दिनलाई भव्य उत्सवका रुपमा मनाउनु उनीहरूको अधिकार हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पंक्तिलाई उक्त दिनलाई उल्लासमय रुपमा मनाउन र राजधानी काठमाडौंका सडक–सडकमा एमाले पंक्ति भरिभराउ हुनुपर्ने भन्नुभएको छ । उहाँ मुलुकको जननिर्वाचित प्रधानमन्त्री पनि हुनुहुन्छ । यद्यपि आफ्नो पार्टीको कार्यक्रममा बोल्दा उहाँले केवल पार्टी अध्यक्षका नाताले पार्टीपंक्तिलाई मात्र आग्रह गर्नुभएको छ ।
गणतान्त्रिक व्यवस्थाका निर्वाचित प्रधानमन्त्रीले केवल आफ्नो पार्टी पंक्तिलाई मात्र हैन, आमजनतालाई नै उक्त दिनलाई उत्सवका रुपमा मनाउन अपिल गर्नुपर्थ्यो । सायद गर्नु नै होला ।
गणतन्त्रकै मुखुण्डो भिरेका केही ‘डेढ अक्कली’हरु अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उपरोक्त अपिलउपर नानाथरी टिप्पणी गरिरहेका छन् । त्यसदिन हारेका तत्कालीन राजावादी सडकमा उत्रिने कार्यक्रम छ । उनीहरू जितेका जनतालाई जिस्क्याउन र हासिल भएका उपलब्धिलाई फेरि विघठित गरियोस् भन्ने मागका साथ सडकमा आउने हल्ला छ । यस्तो अवस्थामा जितेका जनताले जितको उत्सव मनाउनु हुँदैन भन्नु २०६२/०६३ का उपलब्धिमाथि लापरबाही गर्नु हो ।
मुलुकमा राजतन्त्रको विधिवत अन्त्य भएको दिनलाई एमाले एक्लैले मनाउनुपर्ने हैन । यो प्रत्येक राजनीतिक दलसहित दोस्रो जनआन्दोलनका हरेक सहभागीको स्वःस्फूर्त सहभागितामा सम्पन्न हुनुपर्ने एक ऐतिहासिक उत्सव हुनुपर्छ । जसरी प्रेस चौतारी नेपाल २०६२/०६३ को जनआन्दोलनमा सहभागी एक महत्त्वपूर्ण संस्था हो । त्यसरी नै उक्त जनआन्दोलनका अन्य सहभागी संस्थाले आआफ्नो पंक्तिलाई त्यसदिन सडक उत्रिएर उत्सव मनाउन आग्रह गर्नुपर्छ । व्यवस्थाविरोधीले प्रदर्शन गर्छन् भनेर जितेका जनताले जितको उत्साह र उत्सव नमनाउनु पश्चगामी कुरा हो ।
त्यसैले हामी सडकमा उत्रिनैपर्छ, हाम्रो गणतन्त्र र लोकतन्त्रको रक्षा पनि हामीले नै गर्नुपर्छ । सडकबाट जनतालाई गणतन्त्रका उपलब्धि सुनाउनुपर्छ । हिजो जनतामाथि शोषण र अत्याचार गरेर, मुलुकलाई टाट पल्टाएर, मुठ्ठीभरका वर्गलाई पोस्ने महाराजाधिराजहरुको शासन यो देशलाई अब चाहिएको छैन ।हामीले जनतालाई यिनै कुरा भन्नुपर्छ र जेठ १५ गते जनताले सुन्ने सुन्ने ठाउँमा उभिएर हामीले यो व्यवस्थाको पक्षमा ताली बजाउनुपर्छ ।
(लेखक प्रेस चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष हुन् ।)