महाकुम्भ मेलामा ६२ करोड भक्तजन, प्रदूषित पानीले धेरै बिरामी
भारतले १४४ वर्षको अन्तरालमा हुने भनेर प्रचारित गरिएको महाकुम्भ मेलामा ६२ करोड भक्तजन सहभागी भएका छन् । मेलाबाट भारतले २ लाख करोड भारुभन्दा बढी धनार्जन गरेको अनुमान छ ।भारतको अलाहवादस्थित प्रयागराजमा गत १३ जनवरीदेखि २६ फेब्रुअरीसम्म कुम्भमेला आयोजना भएको हो । डेढ महिना लामो मेलामा लाखौँको संख्यामा नेपाली भक्तजनले पनि भाग लिए । नेपालबाट जानेहरूको आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।
मेलामा जाने एक व्यक्तीले औसत ५ हजार भारु खर्च गरेको अनुमान छ । मेलाको अवधिमा ६ देखि ७ लाखले अस्थायी रोजगारी पाएका थिए । यसअघि सन् २०१९ मा आयोजना भएको कुम्भमेला भन्दा सबै दृष्टिले यो महाकुम्भ वृहत रह्यो । अघिल्लो कुम्भमेलामा २४ करोडले स्नान गरेका थिए भने १.२ लाख करोड आम्दानी भएको थियो । यसपालि भक्तजनको संख्यामा ९० प्रतिशत बढोत्तरी भएको छ भने सरकारको आम्दानी झण्डै दोब्बर बढेको छ ।
अघिल्लो कुम्भमेलामा सरकारले ३७ सय करोड भारु खर्च गरेको थियो । यसपालि ७ हजार भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाकुम्भले उत्तर प्रदेशको अर्थतन्त्रमा निकै ठूलो टेवा मिलेको छ । महाकुम्भमा सुरक्षा दिन ४० हजार प्रहरी खटिएका थिए । प्रयागराज वरपर मात्रै १४ वटा नयाँ फ्लाइओभर बनाइएका थिए भने ९ वटा स्थायी तथा १२ वटा अस्थायी घाट निर्माण गरिए ।
महाकुम्भमा थुप्रै दुखद घटनाहरू पनि भए । गत जनवरी २९ का दिन भएको भाग दौडका क्रममा कयौँ मारिएका थिए । एकै पटक लाखौँको भिड स्नानका लागि घाट जाने क्रममा ब्यारिकोड तोड्दा भागदौड मच्चिएको थियो । सरकारी अधिकारीहरूले सो घटनामा ३० जनाको मात्रै मृत्यु भएको दाबी गरेका छन् । तर, सयौँ मारिएको आशंका गरिएको छ । नेपालबाट महाकुम्भमा भाग लिन जाने र फर्किने क्रममा दुर्घटनामा परेर दर्जनौँले ज्यान गुमाएका छन् । महाकुम्भमा स्नान गर्नेहरू ठुलो संख्यामा बिरामीसमेत परे । धेरैलाई श्वासप्रश्वास र छालाको रोग लागेको थियो । भिडभाडमा चोटपटक लागेर पनि हजारौँ व्यक्तिहरू नजिकैको अस्पतालमा भर्ना भएका छन् ।
महाकुम्भमा रहेको सेन्ट्रल हस्पिटलका मेडिकल सुपरिवेक्षक डा. मनोज कौशिकले प्रत्येक १० जनामा ४ जना श्वासप्रश्वासको सिकायत लिएर आइरहेको बताए । ‘मेला सुरु भएदेखि नै हाम्रो १० बेडको आइसीसीयू पूर्णरुपमा भरिभराउ छ । अधिकांश फोक्सोका बिरामीहरू छन्,’ उनले भने ।
मेलाभरि प्रत्येक दिन १० जनाजति घाइतेहरु आउने गरेको पनि कौशिकले बताए । उनीहरूमध्ये धेरै महिला र बुढाबुढी थिए । प्रदूषित पानीमा डुबुल्की मार्नु नै बिरामी हुनुको प्रमुख कारण मानिएको छ । गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा नुहाउँदा ‘पाप पखालिने’ धार्मिक विश्वास रहिआएको छ । तर, लाखौँको भिडले मलमूत्र गरेर फोहोर बनाएकाले ती नदीहरुमा नुहाउनु स्वास्थ्यका लागि अहितकर हुनसक्ने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका थिए ।