संघ र प्रदेशका सरकारबाट बाहिरिनुपर्ने उथलपुथलको जिम्मेवार को : जनार्दन



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्दैछ भनेर नेतृत्व तहबाटै हल्ला चलाइएको आरोप लगाएका छन् । शर्माले पार्टी फुट्दैछ भन्ने हल्लाको बारे नेतृत्व तहबाटै स्पष्ट पारिनुपर्ने समेत बताएका छन् । पार्टी बैठकमा शर्माले पार्टीभित्र मुद्दामा आधारित छलफल र बहस गर्दा त्यसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको बताएका छन् । शर्माले प्रचण्डको कार्यशैलीको विरोध गर्दा उनले पार्टी फुटाउन लागेको हल्ला चलेपछि प्रतिवाद गरेका हुन् । जारी स्थायी कमिटी बैठकमा आफ्नो लिखित मत राख्दै नेता शर्माले भनेका छन्- विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भयो । शर्माले गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रियाकलापबाट पार्टीलाई भएको लाभ वा हानीको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् । उनले प्रधानमन्त्री भएकै बेला प्रचण्डले प्रयोग गरेको उथलपुथलको सिद्धान्तप्रति समेत कटाक्ष गरेका छन् । शर्माले भनेका छन्- अहिलेको उथलपुथलले सङ्घ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को हो ? यस विषयमा पार्टीले प्रष्ट पार्नुपर्छ । पार्टीमा प्रचण्डले दिएको उपमहासचिव पद अस्वीकार गरेका शर्माले अब नेतृत्वबाट प्रचण्डसहितका पदाधिकारीले बिदा लिएर तेस्रो पुस्तालाई जिम्मेवारी दिन समेत प्रस्ताव राखेका छन् । शर्माले १५ वर्षसम्म माओवादी पार्टी निरन्तर सरकारमा रहेको अवधिमा प्राप्त भएका उपलब्धि र कमी कमजोरीको व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन गर्न समेत प्रस्ताव राखेका छन् । उनले २०८४ सालसम्म माओवादी पार्टी प्रतिपक्षमा रहने र सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् । शर्माले प्रचण्डदेखि सबै माओवादी नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्ने प्रस्ताव पनि स्थायी कमिटी बैठकमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...