नक्कली भौचर दिएर माछापुच्छ्रे बैंकका कर्मचारीद्वारा लाखौं रकम झ्वाम



हाम्रो इकोनोमि

 

 

रुपन्देहीको मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रका कर्मचारीले दर्जनौं बचतकर्ताको रकम झ्वाम पारेका छन् । उनले नक्कली बैंक भौचर दिएर बचतकर्ताको लाखौं रुपैयाँ झ्वाम पारेका हुन् । अनेक दुःख गरेर जम्मा गरेको रकम आफ्नो बैंक खातामा नभेटिएपछि पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन, नेपाल राष्ट्र बैंक र बैंकका केन्द्रीय कार्यालय गुहारोका छन्, तैपनि आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । पीडितहरुका अनुसार रमेश चौहान नाम गरेका बैंकका कर्मचारीले ४५ जना बचतकर्ताबाट उठाएको रकम बैंकमा इन्ट्री नै नगरी आफैले चलाएका छन् । सम्मरीमाई गाउँपालिका- २ घर भएका हरिराम अहिरले चौहानमार्फत बैंकको खातामा जम्मा गरेको ४ लाख रूपैयाँ गायब भएको बताए । चौहानले बैंकको छाप भएकै भौचर दिएको तर, पछि पैसा लिन जाँदा बैंकको खातामै पैसा नभएको जानकारी पाएको उनले सुनाए ।

स्थानीय हरिजन केवटले १ लाख ५३ हजार ३३६ रुपैयाँ बैंकमा जम्मा गरेको, तर पछि बुझ्दा ४१४ रुपैयाँमात्रै खातामा भएको पाइएको बताए । बैंकका कर्मचारी चौहानले आफ्नो पैसा खाताबाटै गायब पारेको उनले आरोप लगाए । बैंक खातामा आफूहरुले जम्मा गरेको रकम नदेखिएपछि अहिर र केवटलगायत ६० जनाले पैसा फिर्ता माग्दै भैरहवास्थित माछापुच्छ्रे बैंक घेरेका थिए । त्यसपछि स्थानीय प्रशासनको रोहबरमा पीडित र बैंकका प्रतिनिधिबीच छलफल भए पनि कुनै निकास ननिस्केको पीडितहरु बताउँछन् । पीडितहरूले ३ हजारदेखि ४० लाख रुपैयाँसम्म बैंकका कर्मचारीले गायब पारेको दाबी गरेका छन् ।

पीडितहरुले आआफ्नो गायब भएको रकम उल्लेख गर्दै बैंकमा निवेदन दिएका छन् । पीडितको पक्षमा वकालत गर्दै आएका भोपेन्द्र यादवले बचतकर्ताको रकम फिर्ता दिनुपर्ने बैंकका कर्मचारी चौहान फरार रहेको बताए । ‘३०० महिला र पुरुष पीडित भएका छन् । पैसा बैंकको खातामा छैन भने कहाँ गयो । अहिले त्यो शाखा बन्द छ’, यादवले भने । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माछापुच्छ्रे बैंकको मझगाँवामा रहेको शाखारहित कार्यालयबाट स्थानीय रमेश चौहानले त्यसरी रकम उठाएको, बैंकले जिम्मा दिएर ब्रान्च लेस खोलेको र त्यो स्थानबाट सदस्य बनाउने र बैंकिङ कारोबार गरेर रकम उठाएको स्थानीयले सुनाएको बताएका छन् ।

प्रजिअ अर्याल बैंकका कर्मचारी चौहान वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पुर्पक्षमा परेर फौजदारी अभियोग लागेकाले उनका खाताहरू वैदेशिक रोजगार विभागको आदेशले बन्द भएकाले समस्या आएको बताउँछन् । खाता बन्द भएपछि स्थानीयलाई आशंका भएर राष्ट्र बैंकसम्म पुगेको उनको भनाइ छ । प्रजिअ अर्यालले माछापुच्छ्रे बैंकका केन्द्रीय पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिइसकेको बताए । माछापुच्छे बैंकका डिजिटल बैंकिङ डिपार्टका प्रमुख माधव सुवेदीले वास्तविक मर्कामा परेको ग्राहकको समस्या समाधान गर्न तयार रहेको बताए । दुवै पक्षका कुरा सुनेपछि छलफल गरी समाधान गर्ने प्रयासमा छौं, कुनै पनि ग्राहकलाई मर्कामा पार्नुहुन्न भनेर लागेका छौं’ उनले भने, ‘ती व्यक्तिले बैंकको सिस्टम प्रयोग गरेको छैन, यो व्यक्तिगत मामिला हो, तर हामी कसरी समाधान गर्ने भनेर लागेका छौं ।

 

  

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...