जलवायु परिवर्तनले लाखौं नेपालीलाई गरिबीमा धकेलेको छ : राष्ट्रपति पौडेल



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले जलवायु न्यायको विषय उठाएका हुन् । विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, राष्ट्रपति पौडेलले भने ।

जलवायु परिवर्तनका नकारात्मक असरहरूको जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्नुपर्ने उनले बताए । कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको राष्ट्रपति पौडेलले बताए । पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा  हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्’, राष्ट्रपति पौडेलले भने, ‘जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ ।’

राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपिल गरेका छन् । ‘श्रमको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु सबैको साझा दायित्व हो, यो नै सामाजिक न्याय हो’, उनले भने । राष्ट्रपति पौडेलले सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने  सामूहिक प्रयास आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे । राष्ट्रपति पौडेलले आजको श्रमबजार तीव्र गतिमा परिवर्तन भइरहेको र यसले नवीन सीपहरूको, नयाँ प्रविधिको र सिर्जनशील कार्यशैलीको माग गरेको बताए ।

‘औद्योगिक उत्पादन हुन् वा सेवा क्षेत्र वा सूचना प्रविधिमा आधारित बैङ्किङ सेवाहरू, यन्त्र सिकाइ र कृत्रिम बौद्धिकता नै किन नहुन्, सबै क्षेत्रमा व्यापक परिवर्तन आएको छ, तसर्थ कार्य प्रकृतिमा आएको बदलाव सामना गर्न थप ग्रहणशीलता र नविन कार्यशैली आवश्यक छ’, उनले भने । राष्ट्रपति पौडेलले विश्वले विद्युतीय, दूरसेवा अर्थतन्त्रजस्ता नवीन चुनौतीहरूलाई आत्मसात् गरेको र यी सबै क्षेत्रमा हामी मर्यादित श्रमको कार्यसूची कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए । दुर्भाग्यवश विकासमा खर्च गर्नुपर्ने ठूलो रकम घातक हतियारमा निरर्थक लडाईंका लागि लगानी गरिएको छ, अन्तर्राष्ट्रिय समुदायले यो पथलाई उल्ट्याउनुपर्छ र समग्र मानवताको समृद्धिका लागि स्रोतहरू परिचालन गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...