जेठ ३१ बाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा आउने



 

 

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार भोलि बिहीबार (३१ जेठ)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । गत वैशाख १ गते विधिवतरूपमा शुभमुहूर्त तथा वास्तुपूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको बताइएको छ । करिव एक वर्षअघि नै सो केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिएपछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माको भनाइ छ ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टि.यु.भी सर्टिफिकेट) प्राप्त भएको जानकारी दिँदै शर्माले भने– ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौँ । उक्त केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । सो मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने जनाइएको छ । भुइँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्नुपर्छ भन्ने मान्यता बन्दीपुर केबलकारमार्फत पुरा हुने भएको सम्बद्ध पक्षको तर्क छ ।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ । यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको (पाँचतारे सरह) सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो ।

त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिपलाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ । बन्दीपुरहिलको कुल लागत ६ सय २९ करोडमध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिएका छन् । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७तले कुइन टावर नामको पाँच तारे होटेल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै, २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राति ११ बजेसम्म चल्नेछ । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्षसमेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत छ । तर केबलकारको सो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ । बाँकी २ वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न आदेश

    सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी

यो सरकार २०८४ सम्मै जान्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै

पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

    कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ