मानव सेवा नै सर्वोत्तम सेवा हो : मन्त्री चौधरी



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले आज नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । 

कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।’

एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । ‘आज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भए पनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसका लागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छु’, उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ । देशभरका विभिन्न ठाउँमा यस्ता शाखा स्थापना गरी तपाईंहरूले गरिरहनुभएको कार्य निकै ठुलो मानव धर्म, मानव उपकारको कार्य हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनुभएको थियो । यो चिजमा पनि यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी यो जुन काम गर्नुभएको छ । त्यसका लागि यसका संस्थापक सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उहाँले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताउनुभयो । 

मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उहाँले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

तर कानूनमा अझै पनि केही कमी रहेको भन्दै उहाँले ती कमीलाई पुरा गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘तपाईँहरूका निम्ति बनाइएका ऐन, कानूनमा भएका व्यवस्थालाई तल तलसम्म कार्यान्वयन तहमा ल्याउनका लागि अझै पनि केही कमी छन् । ती कमीहरूलाई पनि पुरा गर्न अथवा सेवाग्राहीसम्म सरकारको सेवा पुर्‍याउनका लागि यहाँहरू जस्ता व्यक्तिहरूलाई ठाउँ दिएर काम अगाडि बढाइनेछ’, मन्त्री चौधरीले भन्नुभयो । 

मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उहाँले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताउनुभयो । उहाँले नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री चौधरीले आश्रमको अवलोकन समेत गर्नुभएको थियो ।

त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताउनुभयो ।  त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, अर्थ विभागीय कार्यसमितिका अध्यक्ष मधुसूदन पौडेलले संगठनका तर्फबाट सकेको सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...