एमालेमा उपाध्यक्ष पौडेल र महासचिवको गुट सक्रिय



हाम्रो इकोनोमि

 

 

सातै प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको एमालेमा अहिले जिल्ला अधिवेशनको चटारो सुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि केहीमा बाहेक त्यो प्रयास सार्थक देखिएन । सात प्रदेशमध्ये सुदूरपश्चिम र मधेस प्रदेशबाहेकका प्रदेश कमिटी निर्वाचनमार्फत आए । निर्वाचन भएका प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट भन्दै चुनावमा होमिए । कतै उपाध्यक्ष भारी देखिए कतै महासचिव । प्रदेश अधिवेशनजस्तै अहिले जिल्ला अधिवेशनहरू पनि सर्वसम्मतभन्दा बढी निर्वाचनमार्फत नै टुङ्गो लागिरहेका छन् ।
प्रारम्भिक अवस्थामा एमालेले देशैभर ७ जिल्लामा मात्रै अधिवेशन गरेको छ । तीमध्ये तीन जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्य चार जिल्लामा निर्वाचन भएका छन् । सुदूरपश्चिमको दार्चुलामा पुस २० गते सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । ९ जिल्ला रहेको यहाँ त्यसयता अधिवेशन भएको छैन । कैलालीमा भने आगामी ६ र ७ गते जिल्ला अधिवेशन हुँदैछ । बिहीबार उक्त अधिवेशनको लागि आफ्नो उम्मेदवारीका विषयमा पार्टीलाई लिखित जानकारी गराउने प्रक्रिया सुरू गरिएको थियो । अध्यक्षमा तीनजनासहित पाँच पदाधिकारीमा ५० जनाले दाबी गरेका छन् ।

आकाङ्क्षी बढी हुँदा कैलालीमा पनि निर्वाचन हुने सम्भावना बढेको छ । प्रदेश अधिवेशन भने सर्वसम्मत नेतृत्व चयन गर्दै सकिएको थियो । कर्णालीमा प्रदेश अधिवेशनमा निर्वाचन भएको थियो । १० जिल्लामध्ये अहिलेसम्म दैलेखमा मात्रै सर्वसम्मत नेतृत्व चयन गरिएको छ । अन्य जिल्लामा अधिवेशन हुन बाँकी छ । मधेस प्रदेशका ८ जिल्लामध्ये रौतहट र महोत्तरीमा निर्वाचनमार्फत नेतृत्व चुनिएको छ । यहाँ प्रदेश नेतृत्व सर्वसम्मत टुङ्गिएको थियो ।

बागमतीका १३ जिल्लामध्ये दोलखामा चुनाव भएको थियो भने बिहीबार धादिङमा निर्वाचन सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोकमा पनि १६ देखी १८ गते सम्म अधिवेशन तोकिएको छ । यहाँ पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्यून रहेको प्रदेश उपसचिव भक्तकुमारी लामाले बताइन् । उनका अनुसार बागमतीका अन्य जिल्लामा पनि सर्वसम्मतको सम्भावना क्षीण छ । गण्डकीमा प्रदेश अधिवेशन प्यानल सहित प्रतिस्पर्धामा उत्रिएर हारजित हुँदा म्याग्दीमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ । अन्य जिल्लामा भने अधिवेशन हुन बाँकी छ । लुम्बिनी प्रदेशमा फागुनदेखि जेठसम्ममा जिल्ला अधिवेशन सक्ने तयारी छ । प्रदेश नेतृत्व निर्वाचनमार्फत टुङ्गो लागेको थियो । कोशी प्रदेशका कुनै पनि जिल्लामा अधिवेशन सुरू भएको छैन ।

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले निर्वाचनमार्फत नेतृत्व चयन गर्न वा सर्वसम्मत ढङ्गले नेतृत्व चयन गर्ने विषयमा केन्द्रीय नेतृत्वबाट कुनै दबाब नआउने स्पष्ट पारेका छन् । उनले जिल्लाहरूको तयारी अनुसार नै अधिवेशनहरू भइरहेको र त्यही अनुसार नै हुने दाबी गरे । नेतृत्वबाट सहमति नै गर्नुपर्छ वा निर्वाचनमै जानु पर्छ भन्ने कुनै दबाब आउँदैन’, उनले भने, ‘जिल्लाका नेता कार्यकर्ताहरूको भावनाअनुसार नै अधिवेशन भइरहेका छन् यस्तै हुन्छ ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...