लोककल्याणकारी विज्ञापनको रकम दोब्बर पार्न काउन्सिलको माग
प्रेस काउन्सिलले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम बढाउनुपर्नेमा जोड दिएको छ । काउन्सिलको हालै बसेको बोर्ड बैठकले लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयदेखि वृद्धि नभएकाले हालको रकममा दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन, सूचना तत् तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।
बैठकले सरकारी विज्ञापन, सूचना प्रकाशनका लागि स्थानीय र प्रदेशस्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णयसमेत गरेको छ । त्यस्तै, खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित काउन्सिलबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णय भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारी कार्यालय रहेको स्थानका सञ्चार माध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानून संशोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णय समेत भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।सूचना प्रविधिमा दिनानुदिन बढ्दो विकासक्रम, सामाजिक सञ्जालको प्रभाव र विभिन्न प्राकृतिक प्रकोप, महामारी आदिका कारण नेपालको पत्रकारिता क्षेत्र प्रभावित हुदैं आएको र यसको प्रत्यक्ष प्रभाव छापा माध्यममा बढी परेकाले यस्तो निर्णय गरेको काउन्सिलले बताएको छ ।