भूकम्प प्रभावित क्षेत्रमा एमालेका २८ समूहमा ११ सय स्वयंसेवक परिचालित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालित गरेको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउनका लागि जमीन सम्याउने जस्ता काम शुरू गरेका छन् । कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एकहजार र प्रदेशका एकसय गरी ११ सय स्वयंसेवक खटिएका हुन् । त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन हुने पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । नेकपा (एमाले)का जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काममा जुटिसकेका छन् । जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मङ्सिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ ।

केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका–३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा काम भइरहेको छ । त्यसैगरी पिपलडाँडा क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएकोे छ । पार्टीका केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्य लगायतको समूहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवा नेतृत्वको प्रदेश कमिटीको समूहले पनि रिम्नामै काम गरिहेको छ । भेरी नगरपालिका– १ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका–१ को चिउरी, पालि, कल्पत वडा नं. ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा नं. ५ को ऐरारी, चारगाउँ वडा नं. ६ को थाप्ला, चारगाउँ वडा नं. ७ को चामखेत लगायतका क्षेत्रमा विभिन्न समूह खटिएका छन् । त्यसैगरी इपिसेन्टरको रूपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरी लगायतका ठाउँमा छुट्टाछुट्टै समूह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको पार्टी केन्द्रीय सदस्य किरण पौडेलले बताउनुभयो । उहाँका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलिसम्ममा स्वयंसेवक पुग्नेछन् ।

 

 

नेकपा (एमाले)का स्वयम्सेवकहरूले पाँच हजार कार्यदिनमा एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछन् । हजारौं घरटहराहरू बनाएर भूकम्पको पीडामा रहेका नागरिकहरूलाई न्यानो बसाइँको व्यवस्था गरेर मात्र आफूहरू घर फर्किने केन्द्रीय सदस्य पौडेलले बताउनुभयो । नेकपा (एमाले)को गत कात्तिक २२ गते बसेको २५औँ सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउन र अस्थायी घरटहरा बनाउन श्रमदान गर्ने निर्णय गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पमा पनि नेकपा (एमाले)ले स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...