गणतन्त्रबिरुद्ध औंला ठड्याउने काम भए त्यो औंला नै झारिदिन्छौं : केपी ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रलाई चलाउने वा औंला ठड्याउने काम नगर्न पूर्वराजावादीलाई चेतावनी दिनुभएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बिशेष भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा आउने सवैलाई एमालेले जनताको बलमा परास्त गर्ने उदघोष पनि गर्नुभयो । ठूलो बलिदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेको औंला तल झारिदिने उहाँको चेतावनी छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंला ठड्याउने काम कतैबाट नहोस भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु, लोकतन्त्रविरुद्ध लड्ने कुरा त छोड्दिनुस्, औंलामात्र ठड्याए भने त्यो औंला कसरी तल झार्ने हो हामीले झारिदिन्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेले सरकार छाडेपछि विकासको गति रोकिएको भन्दै उहाँले अहिलेको गठबन्धन सरकारलाई विकासतर्फ रुची नै नभएको बताउनुभयो । एमाले नेतृत्वको सरकारले थालेका राष्ट्रिय गौरवका आयोजना, सडक, पुल, अस्पताल सबै अहिले अलपत्र रहेका उहाँले बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको सरकारले गुण्डागर्दीलाई प्रोत्साहन दिएको बताउनुभयो ।उहाँले भन्नुभयो, ’सबैतिर बेहाल छ, वैज्ञानिक वन व्यवस्थापनका नाममा केही मानिसले सालघारी समाप्त पारेर केही मान्छेले षड्यन्त्र गरेका थिए, त्यसलाई हामीले रोकेका थियौं, अहिले भित्रभित्र त्यसलाई अगाडि बढाउने काम भएको छ, हामीले शिलान्यास गरेका अस्पताल बनेनन्, बाटाहरु बनेनन्, बनिरहेकाहरुको गति पनि सुस्त छ, २ वर्षमा सक्नुपर्ने बाटाहरु ६ वर्षमा पनि बन्ने अवस्था छैन, यस सरकारलाई विकासतर्फ रुची छैन, गुण्डाहरुलाई प्रोत्साहन गर्छ, अपराधीहरुलाई छुटकारा दिन्छ ।’

जिल्ला, उच्च र सर्वाेच्चले जन्मकैदको सजाय सुनाएका अपराधीलाई सरकारले उन्मुक्ति दिएको अध्यक्ष ओलीले बताउनुभयो । सरकारलाई मन नपरेकालाई थुन्ने र परेकालाई नथुन्ने काम भइरहेको उहाँले बताउनुभयो । सरकारका कामबाट सरकार नै लज्जित हुनुपर्ने अवस्था देखिएको अध्यक्ष ओलीले बताउनुभयो । प्रहरी कार्यालय र सरकारी कार्यालयबाट मुद्दा बिगारेर सरकार निकटका व्यक्तिलाई उन्मुक्ति दिइएको उहाँले बताउनुभयो । न्याय पाउँ भन्दै माइतीघरमा अनसन बसेकी आरती साहकी आमालाई सरकारले बेवास्ता गरेको अध्यक्ष ओलीले बताउनुभयो । न्याय माग्नेलाई लछारपछार गर्ने तर लोकतन्त्र विरोधीलाई प्रोत्साहन गर्ने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ’राजनीतिक नेताहरुलाई गाली गर्ने, लोकतन्त्रलाई गाली गर्ने, कुनै पनि राम्रो काम देख्न नसक्ने र गाली गर्ने, अराजकता उच्छृंखलता प्रदर्शन गर्ने त्यस्तो माान्छे माइतीघरमा बस्यो भने सरकारले प्रोत्साहन गर्छ, मेरी छोरी मारिएकोमा न्याउ पाउँ भन्ने ब्यानर गुण्डा लगाएर फ्याँक्छन्, न्याय माग्न बसेकी आमालाई पुलिसले लछारपछार गर्छ, कस्तो सरकार, अराजकता मच्चाउन पाइने, न्याय माग्न नपाइने ? देश बर्बाद गर्छु भन्न पाइने ?’ नेपाल देशलाई नै अर्काे देशमा गाभिदिन्छौं भन्ने जस्ता राष्ट्रहित विपरीतका अभिव्यक्ति दिइरहँदा सरकार कानमा तेल हालेर बसेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले जाजरकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल नभएर माओवादी र कांग्रेस गएको बताउनुभयो । राष्ट्रपति पौडेल जाजरकोट जाने आवश्यकता नै नभएको भन्दै उहाँले राष्ट्रपति जाँदा सुरक्षा निकाय भूकम्प प्रभावित भन्दा पनि राष्ट्रपतिको सुरक्षामा खटिनुपरेको बताउनुभयो । गठबन्धन सरकारले संविधान विरोधी काम गरिरहेको र राष्ट्रपति पौडेल पनि संविधान अनुसार नचलेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

देशका नेतामाथि आक्रमण हुनु सानो कुरा नभएको उहाँले बताउनुभयो । माओवादीले युद्ध छोडेपनि आतंकको धङधङी नछाडेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ’देशका नेताहरूमाथि हल्काफुल्का ढंगले शारीरिक आक्रमण हुँदै गयो, माओवादी आतंककारी छन्, हुन त उसले छाडेको भनेको थियो, हुन त आतंककारी नै रहेछ, मलाई ०६४ को चुनावमा घेरेर मार्ने षड्यन्त्र गर्यो, असिना बर्साएजसरी ढुंगा बर्सायो, लोराजत्रा ढुंगा, नमार्न खोजेको भए के त्यो सम्मान गरेको ? फूल–वर्षा गरेको ? मार्नै खोजेको हो ।’

केही समयअघि पहिचानवादीको नाममा आफूमाथि ढुंगा बर्साइएको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – ’अस्ति पहिचानवादीका नाममा (कोशी प्रदेश) ममाथि ढुंगा बर्साइयो, माओवादी लगायत तीन जना मान्छेलाई एकछिन थुन्दा ती राजनीतिक मान्छे हुन, तीनले ढुंगा हान्न पाइन्छ, मार्न पाइन्छ भनेर बहस गर्न सीडीओ कार्यालयमा पुगे, माओवादी पुगे, एस भन्ने पार्टी पुग्यो, कांग्रेस पुग्यो, कस्तो रहेछ त राज्यको गठबन्धनको नीति, नियत ?’ अध्यक्ष केपी शर्मा ओलीले आज देश राजनीतिक हिसाबले अस्थिरता र आर्थिक हिसाबले लगातार ओरालो लागेको अवस्थामा रहेको पनि बताउनुभयो । देशमा मेडिकल शिक्षा निषेध गरिएको र युवा पलायन बढ्दो अवस्थामा रहेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । विकासको आधार प्रकृति र जनशक्ति हुने बताउँदै ओलीले उत्पादनमा खट्न सक्ने क्रियाशील युवा जनशक्ति विदेशिने क्रम नरोकिएको उहाँले बताउनुभयो ।

देशमा श्रोत र साधनको समुचित प्रयोग हुन नसकेको उहाँले बताउनुभयो । दीगो श्रोत अरूलाई जिम्मा लगाउने काम भएको र खनिज जन्य श्रोतको खोजी नै हुन नसकेको ओलीको भनाइ छ । अनेक षडयन्त्र गरेर प्राकृतिक श्रोतलाई पनि सिद्धाउने काम भएको उहाँले बताउनुभयो । एमाले सरकारले सुरु गरेको काम गठबन्धन सरकार बनेपछि जाहीँको त्यहीँ रोकिएको भन्दै ओलीले आलोचना गर्नुभयो । विकासको गति अति धिमा भएको कारण एमालेले सुरु गरेका सडकमा मानिसले धुलो खाने बाहेक अरू काम हुन नसकेको उहाँले बताउनुभयो । ‘यस सरकालाई विकास तर्फ रुचि छैन, गुण्डाहरूलाई प्रोत्साहन गर्छ, अपराधीहरूलाई छुटकारा दिन्छ’, ओलीले भन्नुभयो ।

अदालतले सर्वश्व हरण सहित जन्म कैदको फैसला गरेका मानिसलाई समेत सरकारले छाडेको ओलीले बताउनुभयो । सरकारलाई मन नपरेका मानिसलाई थुन्ने र मन परेका मानिस छाड्ने हो भने अदालत किन चाहियो ? भन्दै ओलीले प्रश्न गर्नुभयो । सरकार आफैँ प्रहरीको गतिविधिबाट लज्जित हुनुपर्ने अवस्था आएको ओलीले बताउनुभयो । न्याय पाउँ भनेर नागरिक माइतीघर मण्डलामा उत्रनु पर्ने अवस्था आएको ओलीले प्रष्ट पार्नुभयो । अराजकता मच्चाउनेहरू माइतीघरमा आउँदा सरकारले संरक्षण गर्ने तर न्याय मागेर बसेकी आमालाई लछारपछार पार्दै गाडीमा कोच्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘कस्तो सरकार हो यो ? अराजकता मच्चाउन पाइने, न्याय माग्न नपाइने’, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...